Listen LIVE

वन कार्यालय बाँकेद्वारा वृक्षारोपण अभियान शुरु

नेपालगञ्ज : डिभिजन वन कार्यालय बाँकेले जिल्लामा हरियाली प्रवद्र्धन तथा वातावरण संरक्षणलाई टेवा पु¥याउने उद्देश्यले वृक्षारोपण अभियान शुरु गरेको छ । डुडुवा गाउँपालिका–५ स्थित राष्ट्रिय वन क्षेत्रमा पर्ने कम्दी जैविक मार्गमा वृक्षारोपण शुरु गरिएको हो ।

'सगरमाथा वृक्षारोपण महाअभियान' अन्तर्गत असार १४ गतेको अवसर पारेर यस वर्षको वृक्षारोपण कार्यको शुरुवात गरिएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख सिनियर डिभिजनल वन अधिकृत शङ्करप्रसाद गुप्ताले बताए ।

उनका अनुसार वन क्षेत्रको संरक्षण, जैविक विविधताको संवद्र्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि वृक्षारोपण अभियान प्रभावकारी हुने अपेक्षा गरिएको छ । रोपिएका बिरुवाको संरक्षण र हेरचाहमा स्थानीय समुदायको सक्रिय भूमिका आवश्यक रहेको उनले उल्लेख गरे । 'वृक्षारोपण गर्नु मात्र पर्याप्त हुँदैन, यसको संरक्षण र व्यवस्थापनमा सबैको समान जिम्मेवारी हुनुपर्छ,' उनले भने ।

अभियानअन्तर्गत वर्षायामभर जिल्लाका विभिन्न वन क्षेत्र, सार्वजनिक स्थान, विद्यालय परिसर तथा खाली जमिनमा हजारौँ बिरुवा रोप्ने लक्ष्य राखिएको कार्यालयले जनाएको छ ।

डिभिजन वन कार्यालय बाँकेका वरिष्ठ वन अधिकृत सुशील सुवेदीका अनुसार यस वर्ष जिल्लाका विभिन्न सामुदायिक वन, राष्ट्रिय वन तथा सार्वजनिक स्थानसमेत गरी कुल ६०.५ हेक्टर खाली जमिनमा वृक्षारोपण गरिनेछ । उक्त क्षेत्रमा ९६ हजार ८०० बिरुवा रोपिने उनले जानकारी दिए ।

उनका अनुसार गणपति सावउस नरैनापुरको १० हेक्टरमा १६ हजार, रामजानकी सावउस राप्तीसोनारी–७ को ७ हेक्टरमा ११ हजार २००, कुसुम्या सावउसको १० हेक्टरमा १६ हजार, राप्तीसोनारी–६ स्थित सदाबहार सावउसको १० हेक्टरमा १६ हजार, सिद्धबाबाको ६ हेक्टरमा ९ हजार ६०० र खप्तडबाबा सावउसको १० हेक्टरमा १६ हजार बिरुवा रोपिनेछ ।

त्यसैगरी बैजनाथस्थित नवप्रतिभा सावउसको ६ हेक्टरमा ९ हजार ६००, खजुरा गाउँपालिका–२ स्थित १ हेक्टर सार्वजनिक जमिनमा १ हजार ६०० र डुडुवा–५ स्थित कम्दी जैविक मार्गअन्तर्गत ०।५ हेक्टर सार्वजनिक राष्ट्रिय वन क्षेत्रमा ८०० बिरुवा रोपिनेछ ।

उनका अनुसार राप्तीसोनारी–८ स्थित झिझरी महिला सावउस र राप्तीसोनारी–८ र ९ स्थित जलन्धरा सावउसमा ८ हजार ५०० बाँसका बिरुवा समेत रोपिएका छन् ।

वृक्षारोपण अभियानमा वन कार्यालयका कर्मचारी, स्थानीय तहका जनप्रतिनिधि, सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, सुरक्षाकर्मी, स्थानीय बासिन्दा तथा सरोकारवालाको सहभागिता रहेको थियो ।

सहभागीहरूले वातावरण संरक्षणका लागि वृक्षारोपण अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । उनीहरूले वन क्षेत्रमा मात्र नभई हरेक घरघरमा एक व्यक्ति एक बिरुवा रोप्ने र त्यसको संरक्षण गर्ने संस्कृतिको विकास गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

डिभिजन वन कार्यालय बाँकेले प्रत्येक वर्ष वर्षायामको अवसर पारेर वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस वर्ष पनि सरकारी निकाय, सामुदायिक वन उपभोक्ता समूह तथा स्थानीय समुदायसँग सहकार्य गरी हरियाली विस्तार अभियानलाई तीव्रता दिइएको कार्यालयले जनाएको छ ।

वन संरक्षण र वातावरणीय सन्तुलन कायम राख्न वृक्षारोपण अभियानले महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया