बैजनाथ (बाँके) : 'जलवायुमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि' भन्ने राष्ट्रिय नारासहित बाँकेको बैजनाथ गाउँपालिकामा २३औँ राष्ट्रिय धान दिवस भव्यरूपमा मनाइएको छ । नेपाल सरकारले २०६१ सालदेखि प्रत्येक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाउने निर्णय गरेअनुसार यस वर्ष पनि बैजनाथ गाउँपालिकाको कृषि शाखाको आयोजना तथा बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्थाको सहकार्यमा वडा नं. १ मुलाटाँटीमा विशेष कार्यक्रम गरी दिवस मनाइएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले कृषि नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै बदलिँदो जलवायुको चुनौती सामना गर्न आधुनिक तथा जलवायुमैत्री कृषि प्रविधिको प्रयोग अपरिहार्य रहेको बताए । उनले बैजनाथ गाउँपालिका कृषि क्षेत्रमा प्रविधिको प्रयोग विस्तार गर्दै किसानलाई उत्पादनमुखी बनाउने अभियानमा निरन्तर लागिरहेको बताए । 'हामी किसानलाई आधुनिक प्रविधिसँग जोड्दै उत्पादन वृद्धि, लागत न्यूनीकरण र आत्मनिर्भर कृषि प्रणाली निर्माण गर्ने लक्ष्यका साथ अघि बढिरहेका छौं,' उनले भने ।
अध्यक्ष शाहीले आफू गाउँपालिका अध्यक्ष निर्वाचित भएपछि कुनै पनि व्यक्ति, संस्था वा समुदायलाई राजनीतिक आधारमा विभेद नगरी समान व्यवहार गर्दै आएको स्पष्ट पारे । किसानले पाउने बीउबिजन, मलखाद, सिँचाइ सुविधा, राहत तथा अनुदान वितरणमा समेत सबै वडालाई समान प्राथमिकता दिइएको उनले बताए ।
उनका अनुसार यस वर्ष धान दिवस मनाउन वडा नं. १ लाई पर्याप्त पानी उपलब्ध भएकाले छनोट गरिए पनि गाउँपालिकाले सञ्चालन गर्ने कृषि कार्यक्रम, अनुदान, प्रविधि हस्तान्तरण र किसानमुखी सेवामा सबै वडालाई समान अवसर प्रदान गर्दै आएको छ । कृषि क्षेत्रको दिगो विकासका लागि सिँचाइ विस्तार, उन्नत बीउको प्रयोग, कृषि यान्त्रीकरण तथा प्राविधिक सेवाको पहुँच बढाउन गाउँपालिका प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
कार्यपालिका सदस्य रूपा थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष कमला बढाले धान दिवसको औचित्यमाथि प्रकाश पार्दै धान केवल खाद्यान्न नभई नेपाली सभ्यता, संस्कृति, परम्परा र कृषिजन्य जीवनशैलीसँग जोडिएको महत्वपूर्ण बाली भएको बताइन् ।
बैजनाथ गाउँपालिकाका कृषि शाखा प्रमुख प्रमोद विश्वकर्माले सञ्चालन गरेको कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष राजु रुचाल, कार्यपालिका सदस्यहरू, गाउँपालिकाका विभिन्न शाखाका कर्मचारी, बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारी, स्थानीय महिला किसान र पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले सामूहिक रूपमा धान रोपाइँ गरी असार १५ को परम्परालाई जीवन्त बनाएका थिए । अन्त्यमा सहभागीहरूलाई दही–चिउरा खुवाउँदै राष्ट्रिय धान दिवस कार्यक्रम सम्पन्न गरिएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार