Listen LIVE

मल लिन बिहान तीन बजेदेखि लाइन, बेलुका निराशा

नेपालगञ्ज : उज्यालो नहुँदै बिहान चार बजे नेपालगञ्ज उपमहानगरपालिका–६, फुल्टेक्रास्थित जिल्ला सहकारी संघ बाँकेको कार्यालय अगाडि करिब सय जना किसानको लाइन लागिसकेको थियो । जाडोले कठ्याङ्ग्रिएको शरीर, हातमा बोरा र मनमा एउटै आशा—आज त मल पाइएला ।

लाइनमा उभिनु भएका अलि अहमद खाँका लागि यो दृश्य नयाँ थिएन । विगतका वर्षहरूमा दिनभर लाइन बसेर पनि रित्तो हात फर्किनु परेको अनुभव उनीसँग छ । त्यसैले यसपटक पनि उनको मन ढुक्क थिएन । तर, भाग्यले साथ दियो । एक बोरा युरिया मल पाएपछि उनको अनुहारमा खुशी छायो ।

‘धेरैपटक खाली हात फर्किएको छु,’ उनले मुस्कुराउँदै भने, ‘यसपटक जसोतसो एक बोरा पाइयो । अब खेतमा हाल्न पाइने भयो ।’

तर, सबै किसानका लागि यो बिहान आशाको किरण बनेन । नेपालगञ्ज उपमहानगरपालिका–१७, परस्पुरका नरेश यादव बिहान पाँच बजेदेखि लाइनमा बसेका थिए । गहुँमा हाल्ने युरियाको ठिक समय भएकाले उनी तेस्रोपटक मल लिन आएका थिए । तर, पालो आउँदाआउँदै ‘मल सकियो’ भन्ने सूचनाले उनको सपना फेरि अधुरै रह्यो ।

‘दुईपटक पनि यस्तै भयो,’ उनले भने, ‘अहिले नपाएपछि पछि पाउनुको कुनै अर्थ हुँदैन ।’ डुडुवा गाउँपालिका–६, हिरमिनियाकी रिता मौर्यका लागि पनि मलको लाइन नयाँ अनुभव होइन । ‘मल थोरै आउँछ, किसान धेरै हुन्छन्,’ उनले भनिन, ‘अघिल्लोपटक त भिड धेरै भएर वितरणै रोकियो ।’

जिल्ला सहकारी संघ बाँकेका प्रबन्धक नवराज उपाध्यायका अनुसार सोमबार मात्र २ सय ४० बोरा युरिया मल वितरण गरिएको थियो । तर, पाँच सयभन्दा बढी किसान मल लिन कार्यालय पुगेका थिए । ‘लाइनमा बसेका आधालाई मात्र मल दिन सक्यौँ,’ उनले भने । यद्यपि, उनले बाँकेमा मलको वास्तविक अभाव नभएको दाबी गरे । ‘धान सिजनमा मल पाइँदैन कि भनेर किसानले भण्डारण गर्ने प्रवृत्तिले अहिले अभावजस्तो देखिएको हो,’ उनको भनाइ छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार देशभरका सरकारी गोदाममा ८८ हजार टनभन्दा बढी रासायनिक मल मौज्दात छ । थप ५९ हजार टन मल आयातको प्रक्रियामा रहेको मन्त्रालयको दाबी छ । तर, कागजमा प्रशस्त देखिने मल खेतमा हाल्ने बेला किसानले नपाउनु सरकारी दाबी र जमिनको यथार्थबीचको दूरीलाई उजागर गर्छ ।

मल आपूर्ति र वितरण पारदर्शी बनाउन मन्त्रालयले ‘अनुदानको मल वितरण सूचना प्रणाली’ लागू गरेको छ । अनलाइनमार्फत मौज्दात हेर्न सकिने व्यवस्था भए पनि बिहान तीन–चार बजेदेखि लाइनमा बस्नुपर्ने किसानका लागि यो प्रणाली कागज र स्क्रिनमै सीमित देखिन्छ ।

बाँकेको यो जाडो बिहानले एउटा गहिरो यथार्थ बोकेको छ—सरकारी गोदाममा हजारौँ टन मल र किसानका हातमा एक बोरा मलका लागि घण्टौँको प्रतीक्षा । कसैका लागि त्यो बोरा आशाको बीउ बन्यो, कसैका लागि फेरि एकपटक निराशाको भारी । खेतमा हरियाली ल्याउने मल, अहिले किसानका लागि सबैभन्दा दुर्लभ भरोसा बनेको छ ।

प्रतिक्रिया