Listen LIVE

चैते धानले मूल्य नपाउँदा किसान निराश

नवलपुर : नवलपुरमा यस वर्ष चैते धान खेति राम्रो भयो । तर धानको उचित मूल्य नपाउँदा किसान भने निराश भएका छन् ।

मध्यविन्दु नगरपालिका दुईका किसान दान बहादुर आलेले पाँच कट्ठा क्षेत्रफलमा लगाएको धान १० क्विन्टल उत्पादन भएको बताए । ‘धान त राम्रो उत्पादन भयो तर के गर्नु मूल्य नै पाइएको छैन। क्विन्टलको दुई हजार बाइस सय मात्रै दिन्छु भन्छन् हामीले कसरी बेच्ने, लगानी पनि उठ्दैन, यस्तो अवस्थामा त राज्यले पनि हेर्न पर्ने हो नि होइन र खोइ कुनै सुनुवाइ हुँदैन,“ घर्तीले भने । 

ज्ञान केन्द्रको कार्यक्रममा सहभागी भएका किसानहरूले समूहमार्फत् खेती गर्दै आएका छन् । घर्ती बुद्धभुमि कृषक समूहको संयोजक हुन् । उनको  समूहले पाँच बिघा क्षेत्रफलमा धान खेती गरेको छ । सबैको धान राम्रो भएको उनले बताए । तर मूल्य नपाएको कारण धान सुकाएर बोरामा थन्क्याएर राख्नु परेको छ ।

किसानले धान दुई खेती गर्ने हुँदा वर्षे धान खान राख्ने र हिउँदे धान बिक्री गरेर आफ्नो जोहो चलाउँदै आएका छन् । उचित मूल्य नपाएपछि सबै किसानले थान थन्क्याएर राख्नु परेको किसान घर्तीको गुनासो छ । 

गैँडाकोट ११ भेडावारिका का कृषक मानबहादुर थारूले पनि यस वर्ष धानको मूल्य नै नपरेको गुनासो गरे । उनले सात बिघा क्षेत्रफलमा धान लगाएका छन् । धान उत्पादन राम्रो भए पनि अहिले उचित मूल्य नपाउँदा अर्को वर्षदेखि धान खेती किन गर्नुपर्यो भन्ने अवस्था आएको उनले बताए । 

गत वर्ष तीन हजारदेखि ३२ सयसम्म खेतमै आइ नसुकाएकै चिसो धान बिक्री गरेका उनी अहिले दुई हजार बाइस सय रुपैँया मात्रै मूल्य दिन्छौ भनेर खरिदकर्ता आउँदा चिन्तित छन् । ‘घरमा ल्याएर सुकाएको धानलाई पनि २२ सय भन्दा बढी मूल्य दिन नसक्ने भन्दा अर्को वर्षबाट धान खेती गर्दिन भन्ने मनमा लागेको छ । लागत नै नउठ्ने भएपछि किन  लगाउनु परो र,“ थारूले भने । 

सरकारले चैते धानको समर्थन मूल्य दुई हजार आठ सय ७९ रुपैयाँ तोकेको भए पनि किसानहरूले त्यसको आधा मूल्यमा धान बिक्री गर्नुपर्ने अवस्था आउनु निकै दुःखद रहेको उनले बताए । उनले सरकारले अब किसानलाई प्रतिफलको आधारमा अनुदान दिनुपर्ने समेत बताए । कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कूलप्रसाद तिवारीले यस वर्ष किसानले चैते धानको मूल्य नै नपाएको गुनासो गरेको तर त्यसका लागि केन्द्र सरकार स्तरबाट नै पहल हुन जरुरी रहेको बताउँछन् । यस वर्ष भारतबाट सस्तो मूल्यमा धान आयात भएको कारणले पनि यहाँका किसानले मूल्य नपाएको हुनसक्ने उनको बुझाई छ । 

‘सरकारले विभिन्न कार्यक्रम मार्फत किसानलाई उत्पादनमा जोड्ने तर बजारीकरणमा समस्या आइरहने, मूल्य नै नपाउने, लागत पनि नउठ्ने भयो भने उत्पादन बढाएर मात्रै देशको आर्थिक समृद्धि कसरी हुन्छ, यस्तै रह्यो भने चैते धान प्रवर्धन कार्यक्रम माथि नै प्रश्न चिन्ह उठ्छ,“ उनले भने ।  

नवलपुरमा यस वर्ष करिब एक हजार एक सय हेक्टर क्षेत्रफलमा चैते धान खेति गरिएको छ । ११ किसानले लगाएको चैत धान लगभग काटेर सकेका छन् । 

ज्ञान केन्द्रले चैते धान प्रबद्र्धन आयोजना मार्फत सिँचाइलाई प्राथमिकतामा राखेर काम गरेका कारण चैते धानको उत्पादन पनि राम्रो भएको र क्षेत्रफल समेत विस्तार हुँदा उत्पादन बढेको कृषि ज्ञान केन्द्र नवलपुरका कृषि अर्थ विज्ञ सञ्जय ढकालले बताए । चैते धान प्रवर्धन आयोजना मार्फत किसानलाई बिउबिजन, सिँचाइ,यान्त्रीकरणमा अनुदान तथा प्राविधिक सहयोग समेत दिँदै आएको ढकालले बताए ।

प्रतिक्रिया