Listen LIVE

स्याउ खेतीबाट वार्षिक एघार लाख आम्दानी

मुगु : जिल्लाको छायानाथ रारा नगरपालिका –१० घट्टलेख गाउँका  कृष्णबहादुर सेजुवालले जागीरसँगै स्याउखेती गर्छन् । अहिले उदाहरणीय कृषक बन्न सफल भएका उनी वार्षिक ११ लाख रुपैयाँ स्याउ बेचेर आम्दानी गर्न सफल भएका छन् ।

उनी कृषि विकास कार्यालय मुगुको लेखापाल पनि हुन् । सेजुवालका अनुसार यस वर्ष स्याउ बिक्रीबाट ११ लाख रुपैयाँ नगद आम्दानी भएको छ । गाउँको  चौंठ्याधारा क्षेत्रमा उनले करिब ३ हजार ३ सय वर्गमिटर जमिनमा स्याउखेती गरेका छन् । 

कुनै समयमा सदरमुकामदेखि यहाँको क्षेत्रलाई दुर्गम मानिन्थ्यो । अहिले सडक सञ्जालमा जोडिएपछि परिश्रम गरी बनाइएको बगैंचाबाट अहिले मनग्य आम्दानीसँगै गाउँका तीन जनाले रोजगार पाएको उनले बताए ।

सेजुवालले भने, “जागीरसँगै खालि समयमा कृषि कर्म अँगाल्दा आर्थिकमा आम्दानी गर्न सकिदो रहेछ । गाउँकै जमिनमा उन्नत जातको स्याउ उत्पादन गरेर मनग्य आम्दानी गर्न सकिदो रहेछ ।” 

सेजुवालले २०५३ सालमा ४५ वटा बिरुवाबाट स्याउ खेती शुरु गरेका थिए । २०५८ सालमा कर्णाली विशेष कार्यक्रममार्फत २५० वटा बिरुवा थप रोपेका थिए । अहिले उनको बगैँचामा ६ सयभन्दा बढी स्याउका बोट छन् । आगामी वर्ष थप जमिनमा खेती विस्तार गर्ने र आधुनिक प्रविधि प्रयोग गरेर उत्पादन बढाउने योजना उनको छ ।

मुगुमा स्याउखेतीबाट यहाँका युवायुवतीलाई रोजगारी सिर्जना गर्ने सम्भावना छ । तर यहाँका स्याउ उत्पादन गर्ने कृषकलाई नवीन प्राविधिक ज्ञान, सिँचाइ, सडकजस्ता चुनौती अझै रहेको उनको भनाइ छ ।

प्रतिक्रिया