Listen LIVE

बजुरामा कृषकको खेतबारी अनुगमन

बाजुरा : बडीमालिका नगरपालिका र बुढीगङ्गा नगरपालिकाका अगुवा कृषकको बारीमा सम्बद्ध अधिकारीले अनुगमन गरेका छन् । कृषकले उत्पादन गरेको कृषि उपज र अवस्थाका बारेमा बुझ्न सम्बद्ध अधिकारीले बारी अनुगमन गरेका हुन् । 

स्थानीय जनप्रतिनिधि, प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र, कृषि विकास शाखा, भेटेरिनरी तथा पशु सेवाविज्ञ केन्द्र, जिल्ला समन्वय समिति, कोष तथा लेखा नियन्त्रण कार्यालय र नेपाल पत्रकार महासङ्घसहितका प्रतिनिधिले कृषकको बारी अनुगमन गरेको कृषि ज्ञान केन्द्र प्रमुख भूमिराज उपाध्यायले बताए । 

व्यावसायिक रूपमा कृषि खेती गरिरहेका कृषकलाई सहयोग पुग्ने गरी कृषि ज्ञान केन्द्र र स्थानीय कृषि विकास शाखाले विभिन्न क्षेत्रमा ५० प्रतिशत अनुदान दिएको छ । हिमाल बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फारामका सञ्चालक बडीमालिका–८, गडखेतका अगुवा कृषक लालबहादुर ऐडीको गोलभेँडा खेती र अन्य तरकारी बाली अनुगमन गरिएको छ । त्यस्तै बडीमालिका–६ का अगुवा कृषक महेन्द्र दानीको च्याउ फारामलगायत अन्य तरकारी बाली, बुढीगङ्गा–८ मा रहेको रावल बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फारामको फलफूल खेती, सोही वडाकै मोटाबाडा हरियाली कृषक समूहले लगाएको सुन्तला, कागती, आँप, लिची बगैँचाको पनि अनुगमन गरिएको छ । 

बुढीगङ्गा–१० का अगुवा कृषक भोलाप्रसाद जोशीले लगाएका एक हजार चार सय बोट ड्र्यागन फल खेतीका बारेमा जानकारी लिएको छ । कृषकका बारीमा अध्ययन/अवलोकनपछि विभिन्न फलफूल तथा कृषि खेतीमा आवश्यक देखिएको प्राविधिक सुझाव कृषकलाई प्रदान गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ  । कृषि ज्ञान केन्द्रसँगको सहकार्यमा स्थानीय कृषकले व्यावसायिक कृषि खेती सञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया