काठमाण्डौ : एसिया कप टी–२० क्रिकेटमा बङ्गलादेशले हङकङलाई पराजित गरेको छ।
बिहिबार राति भएको खेलमा बङ्गलादेशले हङकङलाई सात विकेटले पराजित गरेको हो। हङकङको एक सय ४४ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले १७ ओभर तीन बलमा तीन विकेटको क्षतिमा भेट्टायो।
बङ्गलादेशका लागि कप्तान लिट्टन दासले ५९ र तौहिद हृदयोयले ३५ रन बनाए। हङकङका अतीक इकबालले दुई तथा आयुष शुक्लाले एक विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङ गरेको हङकङले सात विकेट गुमाएर एक सय ४३ रन बनायो । हङकङका निजाकत खानले ४२ र जीशान अलीले ३० रन बनाए।
बङलादेशका तस्किन अहमद, तन्जिम हसन साकिब र रिशाद हुसेनले दुई–दुई विकेट लिए। प्रतियोगिता अन्तरगत आज राति ओमान र पाकिस्तान राति सवा ८ बजे भिड्नेछन्।
आठ टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा भारत, यूएई, पाकिस्तान र ओमान छन् भने समूह ‘बी’ मा अफगानिस्तान, हङकङ, बङ्गलादेश र श्रीलङ्का रहेका छन्।
फाइनल खेल आगामी सेप्टेम्बर २८ अर्थात् असोज १२ मा हुनेछ।