भैरहवा : बुद्ध जन्मस्थल लुम्बिनी र भारतको वनारसबिच धार्मिक तथा सांस्कृतिक पर्यटनलाई संयुक्त रूपमा प्रवर्धन गर्ने उद्देश्यले पाँचबुँदे सहमति भएको छ । लुम्बिनीमा आयोजित तीनदिने ट्राभल मार्टका क्रममा लुम्बिनीका होटेल व्यवसायी र वनारसका ट्राभल तथा टुर अपरेटरबिच उक्त सहमतिपत्रमा हस्ताक्षर गरिएको हो ।
सम्झौता अनुसार लुम्बिनीलाई विश्व बौद्ध आध्यात्मिक केन्द्र तथा वनारसलाई सांस्कृतिक तथा धार्मिक गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय बजारमा संयुक्त रूपमा प्रवर्धन गरिने छ । पछिल्ला वर्षमा भारतबाट नेपाल आउने पर्यटकको सङ्ख्या बढ्दै गए पनि उनीहरूको बसाइ अवधि छोटो रहने अवस्थालाई ध्यान दिँदै पर्यटन प्रवर्धनमा सहकार्य गर्ने सहमति गरिएको हो ।
सहमति अनुसार नेपाल भ्रमणमा आउने भारतीय पर्यटकलाई कम्तीमा एक रात लुम्बिनीमा बस्ने वातावरण सिर्जना गर्न दुवै पक्षले संयुक्त रूपमा पहल गर्ने छन् । साथै नेपालतर्फको कालीदह र भारतको कक्रहवा बजारलाई 'फ्रेन्डसिप सिटी' (मैत्री सहर) का रूपमा विकास गर्ने अवधारणालाई पनि अगाडि बढाइने भएको छ ।
यसै गरी लुम्बिनी र वनारसलाई समेटेर नयाँ पर्यटन प्याकेज विकास गर्ने, दुवै गन्तव्यबिच सडक तथा यातायात सम्पर्क विस्तारका लागि सम्बन्धित निकायसँग पहल गर्ने तथा पर्यटन व्यवसायी, सञ्चारकर्मी, कन्टेन्ट क्रियटर, ट्राभल तथा टुर अपरेटरबिच नियमित अनुभव आदानप्रदान र अध्ययन भ्रमण सञ्चालन गर्ने सहमति भएको छ ।
लुम्बिनी होटेल सङ्घकी महासचिव टीका कट्टेलले धार्मिक तथा सांस्कृतिक पर्यटनलाई एकीकृत रूपमा प्रवर्धन गर्न यो सहमति महत्वपूर्ण हुने बताए । उनका अनुसार दुवै गन्तव्यबिच पर्यटन प्रवाह बढाउनुका साथै निजी क्षेत्रबिचको सहकार्यलाई पनि संस्थागत गर्ने उद्देश्य राखिएको छ ।
सहमतिपत्रमा लुम्बिनी होटेल सङ्घका अध्यक्ष लीलामणि शर्मा र वनारस टुरिजम गिल्डका अध्यक्ष सुभाष कपुरले हस्ताक्षर गर्नुभएको हो । कार्यक्रममा लुम्बिनी क्षेत्रका होटेल, ट्राभल तथा टुर कम्पनीले स्टलमार्फत आफ्ना सेवा, सुविधा र पर्यटन प्याकेजको प्रदर्शनी तथा प्रवर्धन गरेका थिए ।
आयोजकका अनुसार यस्ता कार्यक्रमले लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा थप प्रभावकारी रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार