Listen LIVE

पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगञ्जमा प्रतिमा निर्माण

नेपालगञ्ज : पश्चिम नेपालकै सबैभन्दा ठुलो बजारका रूपमा परिचित नेपालगञ्ज बजार केही वर्षअघिसम्म यस क्षेत्रका विभिन्न पहाडी जिल्लाबाट आवश्यक सामान खरिदका लागि आउने प्रमुख हाटबजार थियो ।

सोही कारण नेपालगञ्जमा विभिन्न सामान खरिदका लागि यस क्षेत्रका विभिन्न पहाडी जिल्लाबाट ठुलो सङ्ख्यामा सर्वसाधारण आउने गर्दथे। नेपालगञ्जको इतिहासका जानकार स्थानीय अगुवा सनतकुमार रेग्मीले नेपालगञ्ज बजारलाई त्यतिबेला 'खसियारी बजार' भनिने र यहाँ हाटबजार गर्न आउनेलाई 'हटारु' भन्ने गरिएको बताए।

उनका अनुसार नेपालगञ्जमा हाट गर्न आउनेलाई बसोवासको सुविधाका लागि सरकारी निकायकै तर्फबाट सल्यानी र दैलेखी बङ्गला निर्माण गरिएको थियो। हप्तौँ हिँडेर आएकाहरू त्यहीँ थकाइ मेट्दै किनमेल गर्थे। आफूले ल्याएको घ्यू र जडीबुटी बेच्थे भने यताबाट नुन र लत्ताकपडा लैजान्थे।

सोही सम्झना र इतिहास जोगाउन रुकुमेली सेवा समाज बाँकेले नेपालगञ्ज–४ स्थित सल्यानी बङ्गलामा हाट आउनेको सम्झनास्वरूप प्रतिमा निर्माण गरिदिएको छ।

रुकुमेली सेवा समाज नेपालगञ्जका अध्यक्ष दीपेन्द्र खड्काले तत्कालीन आर्थिक र सामाजिक परिवेशलाई जीवन्त बनाउन यो प्रतिमा बनाइएको बताए। उनले यो प्रतिमाले विगतको इतिहासलाई सधैँ जीवन्त राख्न सहयोग गर्ने विश्वास व्यक्त गरे।

समाजका अनुसार पिठ्युँमा डोको, हातमा लौरो, निधारमा नाम्लो, कम्मरमा पटुकी र खाली खुट्टासहित निर्माण गरिएको हाट आउनेको प्रतिमाले त्यतिबेलाको सम्झना ताजा गराउँछ।

नेपालगञ्ज–४ का वडाध्यक्ष गोपाल पुनले वडा कार्यालयले विगतको सम्झनालाई समेट्ने सामग्री राखेर संग्रहालय बनाउने योजना पनि तयार गरिरहेको बताए।

उनले भने, 'हाटका सबै सम्झनालाई ताजा बनाउँछौँ, सिकाइको माध्यम बनाउँछौँ। तत्कालीन परिवेशको हाट वा खसियारी बजारलाई त्यसैको शुरुवातसँग जोडेर सङ्ग्रहालयसमेत बनाउने सोचमा छौँ।'

प्रतिक्रिया