Listen LIVE

सिक्टाको लागत चार गुणा, काम आधा मात्रै

नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिकाको अगैयामा राप्ती नदीमा भीमकाय बाँध बाँध्ने र जिल्लाका करिब ४३ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पु¥याउने भन्दै निर्माण थालेको सिक्टा सिँचाइ आयोजना दुई दशकभन्दा धेरै निर्माण अवधि सकिँदा काम भने आधा मात्रै सम्पन्न भएको छ । 

आर्थिक वर्ष २०६१/६२ मा पूर्वपश्चिम राजमार्गनजिकै पर्ने अघैयामा ३१७ मिटर लामो ब्यारेज निर्माण गरी बाँकेका राप्तीसोनारी, जानकी, बैजनाथ, डुडुवा, नरैनापुर, खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका तथा नेपालगञ्ज उपमहानगरपालिकाका ४२ हजार ७६६ हेक्टर कृषियोग्य जमिनमा भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य थियो । निर्माण थालिएको २१ वर्षसम्म सिँचाइको यो लक्ष्य त भेटिएन नै सुरुवाती लागतसमेत चार गुणा बढिसकेको छ ।   

२०३५ सालतिर नै अध्ययन भएको यो आयोजनामा बन्ने दुईमध्ये पश्चिमी मूल नहरमार्फत ३३ हजार ७६६ हेक्टर र पूर्वी मूल नहरमार्फत करिब नौ हजार हेक्टर क्षेत्र सिञ्चित गर्ने योजना हो । नेपाल सरकारले आफ्नै लगानीमा १२ अर्ब ८० करोड रुपियाँमा सम्पन्न गर्ने भनिएको थियो । न लागत न समय, दुवै औचित्यहीन बने । 

समयमै सम्पन्न नभएपछि आव २०६८/६९ मा राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकृत गरियो । त्यसको १० वर्षपछि २०७९ सालमा गुरुयोजना संशोधन गरेर लागत ५२ अर्ब ८९ करोड पु¥याइएको छ । तीन चरणमा सम्पन्न गर्ने गरी सो आयोजना आव २०८९/९० मा सम्पन्न गर्ने भनिएको छ । हाल दोस्रो चरणको कार्य अघि बढिरहेको आयोजना कार्यालयले जनाएको छ । 

बहुवर्षीय यो आयोजना ठेकेदारको लापर्बाही, बजेट विनियोजनमा समस्या, जग्गा अतिक्रमण, ठेक्का प्रक्रिया तथा कानुनी झमेलाको एकमुस्ट असरले कृषि उत्पादनमा रूपान्तरणकारी फड्को ल्याउन सक्ने आयोजना आजका दिनसम्म आधामै अल्झिएको हो ।  

पछिल्लो विवरण अनुसार हालसम्म आयोजनाको भौतिक प्रगति करिब ५०.५९ प्रतिशत मात्र छ । वित्तीयतर्पm ४५/५३ प्रतिशत वित्तीय प्रगति भएको छ । यस अवधिसम्म करिब २४ अर्ब आठ करोड रुपैयाँ खर्च भइसकेको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार आयोजना अन्तर्गत अगैयामा ३१७ मिटर लामो ब्यारेज, डिसिल्टिङ बेसिन र फ्लसिङ च्यानल निर्माण भइसकेको छ । पश्चिमतर्फ ५० क्युमेक्स क्षमताको ४५.२५ किलोमिटर र पूर्वतर्फ १४.५ क्युमेक्स क्षमताको ५३.५ किलोमिटरमध्ये ३७.६७५ किलोमिटरसम्म मूल नहर निर्माण सम्पन्न भएको छ । शाखा उपशाखा नहरतर्फ बन्नुपर्ने २३३ किलोमिटरमध्ये ७७.५९ किलोमिटर बनेको छ । 

करिब ३० किलोमिटर तटबन्ध निर्माण पनि सम्पन्न भएको छ । नहर तथा संरचना निर्माणका लागि १८७ हेक्टर जमिन अधिग्रहण, किसान व्यवस्थापनमा रहेका सिँचाइ प्रणालीको आधुनिकीकरण, विभिन्न जलाशय निर्माण तथा कचनापुर, बालापुर र ढकेरीमा लिफ्ट सिँचाइ प्रणालीमार्फत करिब १५० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार पनि गरिसकिएको छ । समग्र हालसम्मको प्रगतिले करिब २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउन सकिएको छ ।

प्रतिक्रिया