Listen LIVE

कालिजपालनबाट आकर्षक आम्दानी

नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका–२, मदुईका उदयराम पुनले कालिजपालनबाट राम्रो आम्दानी गरेका छन् । उनले वार्षिक ३० लाख रुपैयाँभन्दा बढीको कारोबार गरेर गाउँमै बसेर पनि विदेशभन्दा धेरै पैसा कमाउन सकिने उदाहरण प्रस्तुत गरेका छन् । 

पाँच वर्षअघि दुई सय वटा कालिजबाट व्यवसाय सुरु गरेका पुनसँग अहिले एक हजार पाँच सयभन्दा बढी कालिज छन् । उनले गत वर्ष करिब ३० लाख रुपैयाँको कारोबार गरेको जनाउँदै यस वर्ष सो वृद्धि भएर ३५ देखि ४० लाख रुपैयाँसम्मको कारोबार हुने आशा गरिएको बताए । 

पटक पटक विदेश जान खोज्दा दलालको ठगी र रकम अभावले जान नसकेपछि वैदेशिक रोजगारीको विकल्प खोज्दै गाउँमै कालिजपालन व्यवसाय सुरु गरेका पुनले कालिजपालनबाट सोचेभन्दा राम्रो आम्दानी भइरहेको बताए । उनका अनुसार कालिजको माग अत्यधिक रहेको हुँदा माग बढेसँगै उत्पादन पनि बढाउँदै लगिएको छ । व्यवसायको सुरुवाती चरणमा निकै समस्या झेल्नु परेको पुनको अनुभव छ । पहिलो पटक दाङबाट ल्याइएका दुई सय चल्लामध्ये १५० भन्दा बढी मरेपछि पनि हिम्मत नहारेर सिक्दै अघि बढेर यहाँसम्म पुगेको उनको भनाइ छ ।

दुई कट्ठा जग्गामा व्यवस्थित फार्म सञ्चालन गर्दै आएका पुनले आफ्नै ह्याचरी मेसिनसमेत जडान गरेका छन् । उनले आफ्नै फार्ममा उत्पादन भएका कालिजका चल्ला बाँके र बर्दियालगायत कर्णाली प्रदेशका सुर्खेत, कालीकोट, जुम्ला र दैलेखसम्म पठाइरहेका छन् । पुनका अनुसार एक दिनको चल्ला प्रतिगोटा २५० रुपैयाँमा बिक्री हुने गरेको छ । भाले कालिज दुई हजार पाँच सय र पोथी कालिज एक हजार २५० रुपैयाँ किलोमा बिक्री भइरहेको छ । बाँकेका होटेलमा कालिजको मासु विशेष परिकारका रूपमा लोकप्रिय बन्दै गएपछि माग बढेको जनाइएको छ । 

हाल पुनले ८० पोथी र २५ भाले बिउका लागि छुट्टै राखेका छन् । आउँदो फागुनदेखि थप चार कट्ठा जग्गामा व्यवसाय विस्तार गर्ने तयारी गरिरहेको उनले बताए ।

सोही प्रकारले कालिज पालनमा कोहलपुरकी सरिता थापा जस्ता अन्य उद्यमी पनि संलग्न छन् । उनीसँग हाल पाँच सय कालिज बिक्रीका लागि तयार रहेको थापाले बताइन् । जाडोको मौसममा कालिजको माग अत्यधिक हुने गरेको उनको भनाइ छ । 

व्यवसायमा संलग्न कृषकका अनुसार बाँकेमा कालिजपालन वैकल्पिक आयआर्जनको माध्यमका रूपमा विकसित हुँदै गएको छ ।

प्रतिक्रिया