Listen LIVE

कृषिमै भविष्य खोज्दै धुर्कोटका युवाहरु

गुल्मी : पछिल्लो समय कृषि क्षेत्रमा व्यावसायिक लगानी गर्ने कम हुँदै गएका छन् । यस क्षेत्रमा लाग्नेभन्दा छोड्नेको सङ्ख्या बढिरहेका बेला धुर्कोट गाउँपालिका–५ को वस्तु गानटारीमा नौ जना युवाले सामूहिक कृषि सपना अगाडि बढाएका छन् । 

रेसुङ्गा नगरपालिका–९ का युवा गिरिप्रसाद पाण्डेय, खगराज पाण्डेय, सुनील पाण्डेय, शङ्कर बस्नेत, राजेन्द्र पन्थी, भरत पन्थी, लक्ष्मण पन्थी, पूर्ण श्रेष्ठ र सुजित पाण्डेयले सामूहिक रूपमा कुखुरापालन, माछापालन र तरकारी खेती सुरु गरेका छन् । 

वार्षिक एक लाख रुपैयाँमा स्थानीय व्यक्तिको २९ रोपनीभन्दा बढी जग्गा भाडामा लिएर कुखुरा, माछापालन तथा तरकारी खेती अगाडि बढाएको सञ्चालक गिरिप्रसाद पाण्डेयले बताए । करिब ५५ लाख रुपैयाँको लागतमा कुखुरा फार्म, माछापोखरी, सडक, सिँचाइ तथा तरकारीका संरचनालगायत निर्माण गरिएको छ । 

उनका अनुसार चार हजार कुखुरा बेचेर अहिले फार्ममा तीन हजार ब्रोइलर कुखुरा छन् अरू दुई हजार थप्ने योजना छ । आठ हजार क्षमताको कुखुरा फार्म निर्माण भए पनि लट अनुसार कुखुरा व्यावस्थापन गर्नुपर्ने सञ्चालक पाण्डेयले बताए । 

युवाले १० वर्षदेखि जिल्लामा अन्डाको व्यावसायिक कारोबार गर्दै आएका छन् । आफूहरूले चार–पाँच वर्ष जिल्लामै लेयर्स कुखुरामार्फत ठुलो परिमाणमा अन्डा उत्पादन गरे पनि पछि राम्रो नभएपछि बन्द भएको पाण्डेयले बताए । यो समूहले अहिले पनि व्यावसायिकरूपमा वर्षको आठ दश लाखको अन्डाको कारोबार गरिरहेको छ । 

सबै नौ जना सञ्चालक नै कुनै न कुनै रूपमा काममा संलग्न छन् । बाहिरका तीन जनाले अहिले नियमितरूपमा काम गरिरहेका छन् । आफूहरूले अहिलेसम्म कुनै पनि सरकारको अनुदान नलिएर सामूहिक लगानीमा काम गर्दै आएको सञ्चालक सुनिल पाण्डेयले बताए । 

कोभिडका बेला दाना नपाएर ५० लाखभन्दा बढी डुब्दा कसैको संरक्षण नपाएकाले अनुदान वा सरकारी हारगुहार नगरेको पाण्डेयले बताए । “सामूहिक लगानी र काम गरेका छौँ । अनुदानको आसमा सरकार धाउने फुर्सद छैन । भविष्यमा सहयोग र सहकार्यको आवश्यक परे नकार्दैनौँ,” उनले भने ।

उनले शिवशक्ति कृषि तथा पशुपन्छी फार्ममार्फत दीर्घकालीन ठुलो कृषि योजना बनाएकाले पानी, यातायात र जग्गाको हिसाबले गानटारीमा काम गर्न थालेको बताए । पाण्डेयले १० हजार भुरा माछा हाल्ने र तत्काल बङ्गुर १० वटा राखेर बिस्तारै ५० पुर्याउने, कुखुराको अन्डा र मासुमा आत्मनिर्भर हुने गरेर काम गर्ने बताए ।

प्रतिक्रिया