नेपालगञ्ज : चिठी वा सरकारी दस्तावेज सिल गर्न, हतियारको बिँडमा, गरगहना भर्नलगायतमा प्रयोग हुने बस्तु लाहाको बाँकेमा पहिलोपटक खेती विस्तार गरिएको छ ।
भारतबाट आयात हुने लाहाको नेपालमा पहिलो पटक खेती विस्तार भएको हो । डिभिजन वन कार्यालय बाँकेले विज्ञसहितको टोलीको सहभागितामा लाहा खेती विस्तार गरेको हो । विज्ञहरूको समूहसहित रूखका हाँगामा लाहा उत्पादन गर्ने लाहा किरा (भ्रुण) छाडिएको छ ।
डिभिजन वन कार्यालयले कोहलपुर–१२ स्थित सिर्जना सामुदायिक वनमा खेती सुरु गरेको हो । वन उपभोक्ता समूहमा २५ केजी बिउ लगाइएको छ । यस्तै राप्तीसोनारी गाउँपालिकाको जलनधारा र झिजरी महिला सामुदायिक वन उपभोक्ता समूहमा पनि खेती विस्तार गरिएको छ ।
२५ वर्षदेखि लाहा खेतीमा लागेका विज्ञ डम्मर विश्वकर्माका अनुसार विशेष रुखका नरम हाँगामा टाँसिएर त्यही हाँगाको रस चुसेर आफ्नो जीवनचक्र पूरा गर्ने परजीवीलाई लाहा भनिन्छ । लाहाको कच्चा पदार्थ प्रतिकेजी एक हजार रुपैयाँसम्म बिक्री हुने गरेको विश्वकर्माले बताए । प्रशोधनपश्चात् प्रतिकेजी दुई हजारसम्ममा बिक्री हुने उनको भनाइ छ ।
लाहा विशेष गरी फर्निचर कारखाना, गहना पसललगायत अन्य विभिन्न काममा प्रयोग हुने गर्छ । ‘लाहा किराले बिरुवाको रस चुसेर आफैं खाना प्राप्त गर्छ । धेरै दुःख गर्न नपर्ने भएकाले खेती गर्न सहज छ । परीक्षण गरिएका रूखबाट उत्पादन राम्रो भएमा थप विस्तार गर्ने योजना छ,’ विज्ञ विश्वकर्माले भने ।
विज्ञ विश्वकर्माका अनुसार लाहा उत्पादन भाले र पोथीको यौनक्रीडापश्चात् पोथी कीराको शरीरमा परिवर्तन हुन्छ । त्यसले हाँगाको रस अत्यधिक चुस्ने गर्छ, अनि अण्डा पार्नका लागि आफ्नो घर निर्माण गर्छ । पोथीको शरीरबाट एक प्रकारको गम वा नरम पदार्थ निस्कन्छ, जसलाई लाहा भनिन्छ । ‘लाहा भालेले बनाउन सक्दैन । लाहा उत्पादनका लागि मनसुनी वर्षा र १५ डिग्री सेल्सियसदेखि ४०–४५ डिग्री सेल्सियससम्म तापक्रम राम्रो मानिन्छ,’ विश्वकर्माले भने । वातावरणका दृष्टिले नेपालमा यसको खेती उपयुक्त रहेको उनले बताए ।
जिल्लाका सामुदायिक वन र उपभोक्तालाई आयमूलक बनाउने लक्ष्यका साथ लाहा खेती सुरु गरिएको छ । लाहा खेतीबाट तराई क्षेत्रमा पाइने खयर, बयरलगायत रूखको संरक्षणमा खेती सुरुवात गरिएको हो ।
जिल्लामै पहिलोपटक सुरु गरिएको खेतीका लागि बुधबार लाहा खेती विस्तार तथा क्षमता विकासका लागि आयोजना गरिएको तालिममा सामुदायिक वन उपभोक्ता समूहका ५१ जनाको सहभागिता रहेको शमशेरगन्ज सब डिभिजन कार्यालय ओभरीका वरिष्ठ वन अधिकृत मनोज शर्माले बताए । लाहा खेतीबाट तराई क्षेत्रमा पाइने खयर, बयरलगायत रूखको संरक्षणमा भूमिका खेल्ने छ ।
डिभिजन वन कार्यालय बाँकेका सिनियर डिभिजनल वन अधिकृत शंकरप्रसाद गुप्ताले अन्य क्षेत्रको सफल प्रयोगपछि बाँकेमा विस्तारका लागि खेती सुरु गरिएको बताए । लाहाको व्यावसायिक खेती गरेर आत्मनिर्भर बन्न सकिने गुप्ताले बताए । ‘कोहलपुरको प्रयोग सफल भयो भने जिल्लाभर विस्तार गर्छौं,’ गुप्ताले भने, ‘जिल्लाका वनमा लाहा खेतीको सम्भावना धेरै रहेको छ । लाहा लगाइसकेपछि हाँगा काट्न नमिल्ने भएकाले वनको पनि संरक्षणमा टेवा पुग्ने छ ।’
सिर्जना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुमन पौडेलले समितिको आयस्तर सुधार गर्न लाहा खेतीले मद्दत गर्ने विश्वास लागेको बताए । उनका अनुसार सामुदायिक वनमा रहेका बिरुवाको हाँगामा लाहा उत्पादन गर्न सके आत्मनिर्भर बन्न सकिन्छ ।
लाहाको प्रयोग फर्निचरको रङ, गरगहना, मेकअपका सामान, जुत्ताको पोलिस, नेल पोलिस, क्याप्सुल, ट्याब्लेट, बिजुलीका बल्ब, लाहा छाप, हातहतियारलगायतमा प्रयोग गरिन्छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार