Listen LIVE

नियमित उडान नहुँदा मुगु जाने यात्रु नेपालगञ्जमा अलपत्र

नेपालगञ्ज : दशैँ नजिकिँदै गर्दा नियमित हवाई उडान नहुँदा हिमाली जिल्ला मुगु जाने यात्रु नेपालगञ्जमा अलपत्र परेका छन् । हिमाली क्षेत्रमा उडान गर्दै आएका जहाज पर्यटक ओसार्न अन्यत्र गएपछि मुगु जाने यात्रुले सास्ती खेप्नुपरेको हो ।

चाडपर्व मनाउन घर फर्किने यात्रुको चाप बढिरहेका बेला नियमित उडान नहुँदा उनीहरू समयमै गन्तव्यमा पुग्न सकेका छैनन् । सडक यातायातको सहज पहुँच नभएको मुगुका नागरिकका लागि हवाई सेवा आवतजावतको प्रमुख माध्यम हो । तर, हवाई सेवा अनियमित हुँदा यात्रु समस्यामा परेका छन् ।

छायानाथ रारा नगरपालिका–६ का केशव रावलले दशैँका लागि घर फर्किने यात्रुको चाप बढिरहेका बेला नियमित उडान नहुँदा थप सास्ती खेप्नुपरेको बताए । उनका अनुसार हवाई सेवा नियमित नहुँदा यात्रु समयमै घर पुग्न नसक्ने अवस्था सिर्जना भएको छ ।

दुर्गाफिमेल ट्रेक नेपाल प्रालिकी संस्थापक दुर्गालक्ष्मी रावलका अनुसार हवाई उडान नियमित नहुँदा मुगु भ्रमणमा आएका दुई जना विदेशी नागरिकसमेत गत सोमबार काठमाडौँ फर्किन बाध्य भएका थिए ।

उनले हवाई सेवा अनियमित हुँदा पर्यटन व्यवसायमा प्रत्यक्ष असर परेको बताइन् । 'पर्यटक नआउँदा मेरो कम्पनीलाई मात्र घाटा भएको छैन, मुगुका होटल व्यवसायी र स्थानीयको रोजगारीमा समेत असर परेको छ,' उनले भनिन् ।

हवाई उडान नियमित बनाउन स्थानीय राजनीतिक दलका नेता र प्रशासनले पहल गर्नुपर्ने उनको सुझाव छ । चाडपर्वका बेला हिमाली जिल्लामा नियमित हवाई सेवा सञ्चालन गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने यात्रुको माग छ ।

रारा नागरिक उड्डयन कार्यालय, ताल्चाका प्रमुख भुवल थापाका अनुसार एयरलाइन्सको उडान तालिकाअनुसार आइतबार र बिहीबार नेपाल वायुसेवा निगम, सोमबार र मंगलबार समिट एयर, बुधबार र बिहीबार सीता एयर तथा शुक्रबार र शनिबार तारा एयरले ताल्चा विमानस्थलमा उडान गर्ने कार्यतालिका छ । तर, निर्धारित तालिकाअनुसार नियमित उडान हुन नसकेको उनले बताए ।

यता, जिल्ला प्रशासन कार्यालय मुगुका सूचना अधिकारी धनप्रसाद पाण्डेका अनुसार ताल्चा विमानस्थलमा नियमित हवाई उडान सञ्चालनका विषयमा सम्बन्धित निकायसँग हालसम्म कुनै समन्वय बैठक बसेको छैन ।

प्रतिक्रिया