Listen LIVE

जमुनाहा नाकाबाट दैनिक १० हजार नेपाली स्वदेश फर्किंदै

नेपालगञ्ज : दसैँ पर्व सुरु भएसँगै नेपालगञ्जस्थित नेपाल–भारत जमुनाहा नाकामा भारतबाट स्वदेश फर्किने नेपालीको चाप बढेको छ । बिहान ६ देखि राति १० बजेसम्म नाकामा दसैँ मनाउन घर फर्किने नेपालीको घुइँचो लाग्ने गरेको छ ।

पछिल्ला केही दिनयता जमुनाहा नाका हुँदै दैनिक करिब १० हजार नेपाली स्वदेश फर्किरहेको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईले बताए । हिन्दुहरूको महान् पर्व दसैँ सुरु भएसँगै चाडपर्व मनाउन घर फर्किनेको सङ्ख्या बढेको उनले जानकारी दिए ।

प्रहरी निरीक्षक भट्टराईले भने, 'गत सातासम्म यो नाकाबाट दैनिक पाँचदेखि छ हजारसम्म नेपाली स्वदेश फर्किरहेका थिए भने यो साता दैनिक करिब १० हजार जना फर्किरहेका छन् ।'

पछिल्ला ६ दिनमा मात्रै जमुनाहा नाका हुँदै ६० हजारभन्दा बढी नेपाली स्वदेश फर्किएको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।

कार्यालयका अनुसार जमुनाहा नाका हुँदै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका बासिन्दा स्वदेश फर्किने गरेका छन् । भारतबाट बस तथा रेलमा लामो यात्रा गरेर नाकासम्म आइपुग्ने उनीहरू आफ्नै देशमा फर्किएपछि छुट्टै आनन्द अनुभूति हुने बताउँछन् ।

भारतको शिमलामा काम गरेर १३ जनाको टोलीसहित फर्किएका दैलेखको राकम कर्णालीका सूर्यबहादुर विकले आफ्नो देशप्रति असाध्यै माया लाग्ने बताए । बाध्यताका कारण रोजगारीका लागि भारत जानुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

स्वदेश फर्किंदा फेरि अर्काको देशमा जान नपरोस् भन्ने लाग्ने गरेको उल्लेख गर्दै विकले परिस्थितिका कारण रोजगारीका लागि विदेश जानैपर्ने अवस्था आउने गरेको बताए ।

विगतका वर्षमा चाडपर्वका बेला भारतबाट फर्किने नेपालीले विभिन्न समस्या भोग्नुपर्ने अवस्थालाई ध्यानमा राख्दै यात्रुको सहजता र सुरक्षाका लागि जमुनाहा नाकामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले सीमावर्ती क्षेत्रमा हुने लुटपाट र ठगी रोक्न तथा यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुग्न सहयोग गर्न सहायता कक्ष सञ्चालन गरिएको बताए । नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर विशेष सुरक्षा योजनासमेत लागू गरिएको उनले जानकारी दिए ।

प्रहरी प्रशासनले जमुनाहा नाकादेखि नेपालगञ्ज र कोहलपुरका बसपार्कसम्म सुरक्षाकर्मी परिचालन गरी निगरानी बढाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले सादा पोसाकमा समेत सुरक्षाकर्मी परिचालन गरेको जनाइएको छ ।

प्रतिक्रिया