यदुराज मिश्र/नेपालगञ्ज : तराई–मधेस क्षेत्रमा गर्मी बढ्दै जाँदा बाँकेमा उखुको जुसको व्यवसाय फस्टाउन थालेको छ । तापक्रम वृद्धि भएसँगै बजारमा उखुको जुस पिउने उपभोक्ताको भीड उल्लेख्यरूपमा बढेको छ ।
बढ्दो मागले उखु उत्पादक किसान मात्र होइन, साना व्यवसायीहरू पनि उत्साहित भएका छन् । नेपालगञ्ज बजारमा मेसिनमार्फत जुस बनाउँदै जीविकोपार्जन गर्ने व्यवसायीहरूको आम्दानीमा समेत सुधार देखिएको छ ।
नेपालगञ्जमा विगत ५–६ वर्षदेखि उखु पेलेर जुस बेच्दै आएका चुन्ना राईका अनुसार पछिल्ला दिनमा बिहानैदेखि उपभोक्ताको चाप बढ्न थालेको छ ।
उनले भने, 'अहिले त बिहान सबेरैदेखि नै जुस पिउन आउनेको भीड लाग्न थालेको छ ।' उनले यो व्यवसायबाट प्रत्येक सिजनमा खर्च काटेर करिब ७० हजारदेखि ९० हजार रुपैयाँसम्म बचत हुँदै आएको बताए । वैदेशिक रोजगारीभन्दा आफ्नै ठाउँमा सानो व्यवसायबाट पनि राम्रो जीविकोपार्जन सम्भव रहेको उनी उदाहरण बनेका छन् ।
त्यस्तै, अर्का जुस व्यवसायी रमन कलवार पनि यस व्यवसायबाट सन्तुष्ट देखिएका छन् । उनले भने, 'यो व्यवसायले घरपरिवार धान्न मात्र होइन, यही आम्दानीबाट तीनजना छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाउन सकेको छु ।'
हाल एक गिलास उखुको जुसको मूल्य २० देखि ३० रुपैयाँ रहेको छ । जुस व्यवसायीहरूले दैनिकरूपमा करिब १,५०० देखि २,००० रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।
उखुको जुस स्वास्थ्यका दृष्टिले पनि उपयोगी मानिन्छ । पेटको गर्मी घटाउने, जन्डिस, कलेजोसम्बन्धी समस्या तथा पिसाब पोल्ने समस्यामा राहत मिल्ने जनविश्वासका कारण यसको माग वर्षेनि बढ्दै गएको छ ।
नेपालगञ्जका स्थानीय व्यवसायी भूमि तामाङले गर्मीयाममा आफू नियमितरूपमा उखुको जुस सेवन गर्ने गरेको बताए । 'गर्मी बढेसँगै जुस पिउनु शरीरका लागि फाइदाजनक हुन्छ,' उनले भने ।
यस वर्ष तराई क्षेत्रमा तापक्रम उल्लेख्यरूपमा बढेको छ । चैतको दोस्रो सातातिर औसत २४ डिग्री सेल्सियस रहेको तापक्रम अहिले वैशाखको पहिलो साता मै बढेर ३७ डिग्री सेल्सियस पुगेको छ । बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरालगायत ग्रामिण क्षेत्रमा गर्मीको प्रभाव स्पष्टरूपमा देखिएको छ ।
यद्यपि, सडक छेउमा खुला स्थानमा बसेर व्यापार गर्नुपर्ने भएकाले यस्ता व्यवसायीहरूले धूलो र चर्को घामको समस्या झेल्नुपरेको छ । घरभाडा तिर्नु नपर्ने भएकाले आम्दानी सन्तोषजनक भएपनि काम गर्ने वातावरण भने सहज नभएको जुस व्यसायीहरु बताउँछन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार