Listen LIVE

तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै बालापुरवासी

बर्दिया : गुलरिया नगरपालिका वडा नं ५ बालापुरकी ४७ बर्षिया शान्ती थारू १० वर्ष अगाडि हरेक दिन ज्याला मजदुरी गर्नका लागि गुलरिया बजारसम्म पुग्थिन् ।

काम पाउँदा जेन तेन घरखर्च चल्थ्यो तर अहिले उनले अरूलाई कृषि मजदुरको रुपमा काम लगाउँछिन् । उनले हरेक बर्ष ७ कठ्ठा जग्गामा व्यवसायिक तरकारी खेती गरेर करिब तीन लाख बचत गर्छिन् । अहिले उनलाई न काम खोज्नको चिन्ता छ न त पैसा कै अभाव छ । 

२०७४ सालमा श्रीमान् बितेपछि एक्लो भएकी उनको आम्दानीको मुख्य स्रोत तरकारी खेती नै हो । व्यावसायिक तरकारी खेती गरेर बिक्री सुरु गरेपछि उनको जीवन फेरिएको छ । हप्तामा दुई दिन हाट बजारमा तरकारी बेच्न जाने शान्तिले प्रति दिन १० हजार रुपैयाँसम्मको तरकारी बेच्छिन् । शान्ती जस्तै उनको छिमेकी मनिषा थारू पनि पहिला ज्यालामजदुरी गर्न जाने गर्थिन् तर अहिले तरकारी खेती गरेर मनग्ये आम्दानी गरिरहेकी छन् ।  

सोबिन्द्र थारू गुलरिया नगरपालिका वडा नं ५ का वडा सदस्य हुन् । उनी खाली समयमा खेतबारीमा नै भेट्छिन् । सोबिन्द्रले पनि तरकारी खेती गर्छिन् । ‘अहिले बेच्न बजार लिएर जानै पर्दैन घर मै गाडी आएर लैजान्छ ।’ उनले भनिन् –‘यहाँ जनप्रतिनिधि मात्र होइन शिक्षक, कर्मचारी, नेता सबैले तरकारी खेती गर्नु हुन्छ ।’ टमाटर खेतीको लागि चर्चित बन्दै गएको बालापुर गाउँमा अहिले दैनिक तीन ओटासम्म गाडी टमाटर खरीद गर्नका लागि आउने गरेको उनले बताइन् ।

बालापुर गाउँमा रहेका दुई सय ६० घरपरिवारमध्ये ९० प्रतिशत घरपरिवारले तरकारी खेती गर्दै आएको वडा सदस्य थारूले बताइन् । कृषि कार्यालयबाट तालिम लिएर केही किसानहरूले सुरु गरेको तरकारी खेतीले अहिले गाउँ नै ओगटेको छ । १० वर्ष अगाडि चैत वैशाखमा बाँझै देखिने बालापुरको खेत अहिले पुरै हरियो देखिन्छ । 

गाउँभरी नै तरकारी खेती हुने भएपछि बालापुर बासीलाई तरकारी बेच्न समस्या नै छैन । थोकमा तरकारी बेच्न चाहनेको लागि नेपालगञ्ज र सुर्खेतदेखि गाडी आउँछ । ‘फुटकरमा बेच्न मनलागे हाट बजार जान्छौ नत्र गाडीमा पठाउँछौँ’ किसान मनीषाले बताइन् –‘फुटकर बेच्दा अलि बढी पैसा आउने भएकोले फुर्सद हुनेहरू हाट बजारमा फुटकर बेच्न पुग्नुहुन्छ ।’

अझ थप बजार व्यवस्थापन गर्न सकेमा अझै तरकारी उत्पादन गर्न सकिने अर्का वडा सदस्य कालीदेवी थारूले बताइन् । गत बर्ष तरकारी बिक्री नभएर किसानहरू मारमा परेको बताउँदै यस बर्ष हालसम्म तरकारी बिक्रीको समस्या नभएको बताइन् ।

एकिकृत पशुपंक्षी तथा कृषि विकास कार्यालय बर्दियाका प्रमुख सागर ढकालले गुलरियाको हाटबजारमा खपत हुने तरकारीको ठुलो हिस्सा बालापुर गाउँको भएको बताए । उनले बालापुरमा व्यवसायिकरुपमा मात्रै ३० विगहा भन्दा बढी क्षेत्रफलमा निरन्तर तरकारी खेती हुने गरेको बताए ।

प्रतिक्रिया