Listen LIVE

नयाँ आलुको मूल्य तेब्बरले वृद्धि

सिमकोट : किसानले उत्पादन गरेको नयाँ आलु बजारमा आएसँगै त्यसको मूल्य तेब्बरले वृद्धि भएको छ । पुरानो आलु सकिएको र नयाँ आलु बजारको मागभन्दा कम आउन थालेपछि आलुको मूल्य वृद्धि भएको हो । 

सिमकोट बजारमा उपभोक्ता उत्सव लामाले नयाँ आलु बजारमा आउन सुरु भएसँगै त्यसको मूल्यवृद्धि भएको बताए । हाल नयाँ आलुको मूल्य प्रतिकेजी एकसय ५० रुपैयाँ पर्नेगरेको उनले बताए । जबकि पुरानो आलुको मूल्य प्रतिकेजी ४० रुपैयाँ पर्ने गर्थ्यो । 

उनले पुरानो सकिने र नयाँ उत्पादन हुने समयको मौका छोपेर आलुको मूल्य वृद्धि भएको बताए । यस वर्ष नयाँ आलुको उत्पादन पनि राम्रो नभएका कारण मागभन्दा कम आलु बजारमा आइरहेका कारण मूल्यवृद्धि भएको उनले बताए । ब्यावसायिक आलुखेती गर्दै आएका किसान जानपुरी भण्डारीले गाउँबाट तीन घण्टा पैदलै बोकेर ल्याएका कारण पनि आलुको मूल्य वृद्धि भएको बताए । 

उनले हालसम्म १० क्विन्टल आलु प्रतिकेजी एकसय ५० रुपैयाँमा बिक्री गरेको र यो क्रम जारी रहेको बताए । उनले हालसम्म सबैभन्दा बढी मूल्यमा आलु बिक्री भएको बताउँदै खडेरीका कारण आलु उत्पादन पनि कम भएको बताए । उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले नयाँ आलु भर्खर आउन सुरु भएका कारण पनि मूल्य बढी भएको बताए । 

आलुको मूल्य वृद्धि भएका कारण किसान र तरकारी व्यापारीसँग छलफल गरिने उनले बताए । त्यसैगरी स्थानीय टमाटर पनि बजारमा आउन सुरु भएको छ । स्थानीय टमाटर प्रतिकेजी २५० रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

प्रतिक्रिया