Listen LIVE

पहिलो झरीमै नेपालगञ्ज डुबानमा

नेपालगञ्ज : मङ्गलवार बिहानैदेखि भएको निरन्तर वर्षाका कारण नेपालगञ्जका अधिकांश स्थान जलमग्न भएका छन् । ढल तथा नालाहरूको नियमित सरसफाइ नहुँदा फोहोरले नाला भरिएर पानीको निकास बन्द भएपछि पहिलो वर्षामै नगर जलमग्न भएको स्थानीयवासीले जनाएका छन् ।

मङ्गलबार बिहान करिब ५ बजेदेखि सुरु भएको वर्षा दिउँसोसम्म निरन्तर भइरहेकाले नेपालगञ्जका अधिकांश भाग जलमग्न भएको न्युरोडका दीपक थापाले बताए ।

पानीको निकास थुनिँदा घरबारी टोल, न्युरोडको सेतु विक चोकदेखि त्रिवेणी मोडसम्मको क्षेत्र, गणेशपुरको बस्ती, बसपार्क क्षेत्र, धम्बोझी, एकलैनी टोल, बिलासपुर, कोरियनपुर र भृकुटीनगरका अधिकांश क्षेत्रमा पानी भरिएर ती क्षेत्र जलमग्न भएका छन् ।

नगरका अधिकांश भागमा नालाहरू निर्माण गरेर ढल निकासको व्यवस्था गरिए पनि ती नालाको नियमित सरसफाइ नगरिँदा नाला थुनिएपछि नगरमा पानी जमेको नागरिक सरोकार मञ्चका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए ।

नगरका अधिकांश ठाउँमा पानी भरिएर जलमग्न भएपछि स्थानीय बासिन्दालाई आवागमनमा कठिनाइ भएको छ । नाला र ढल निर्माण गरिए पनि सरसफाइमा ध्यान नदिएकाले नै हरेक वर्ष सानो वर्षामा पनि डुबानको समस्या आउने गरेको न्युरोडका व्यवसायी अमर अन्सारीले बताए । उनँले न्युरोडका धेरै पसलमा वर्षाको पानी छिरेर विभिन्न सामग्रीमा क्षति पुगेको जानकारीसमेत दिए ।

प्रतिक्रिया