Listen LIVE

दाङमा एक्काइस थान भरुवा बन्दुक बरामद

दाङ : डेढ महिनाको अवधिमा दाङमा प्रहरीले २१ थान अवैध भरुवा बन्दुक बरामद गरेको छ । जेठदेखि हालसम्मको करिब डेढ महिनाको अवधिमा २१ थान अवैध भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख दीपक श्रेष्ठले जिल्लाका विभिन्न ठाउँबाट सञ्चालन गरिएको विशेष अभियानका क्रममा २१ थान भरुवा बन्दुकसहित बन्दुकमा प्रयोग हुने बारुद, गोलीलगायतका सामग्री बरामद गरिएको जानकारी दिए । 

प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार डेढ महिनाको अवधिमा प्रहरी चौकी रामपुरले २० थान र इलाका प्रहरी कार्यालय तुलसीपुरले एक थान गरी २१ थान भरुवा बन्दुक बरामद गरेका छन् । प्रहरीले बन्दुकसँगै छ सय ग्राम बारुद, फलामका ७२ वटा गोली र ५३ वटा केप बरामद गरेको छ । अवैध हातहतियारका कारण हुन सक्ने मानवीय क्षतिका साथै वन्यजन्तुको अवैध चोरीसिकारी रोक्नका सहयोग गर्ने प्रहरी उपरीक्षक श्रेष्ठले बताए । 

उनका अनुसार बरामद गरिएका अधिकांश बन्दुक बङ्गलाचुली गाउँपालिका–४ अन्तर्गत गहतेरा–सिमलपानी सामुदायिक वन तथा भेउडारगढी सामुदायिक वन र घोराही उपमहानगरपालिका–१ अन्तर्गत पर्ने मालेगाउँको जङ्गलक्षेत्रमा लुकाइराखिएको अवस्थामा गस्ती टोलीले फेला पारेको थियो ।

प्रतिक्रिया