Listen LIVE

परम्परागत खेती प्रणालीमै निर्भर मुगुका किसान

मुगु : सरकारले हरेक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउँदै आए पनि हिमाली जिल्ला मुगुका किसानको अवस्था भने अझै उस्तै छ। उन्नत जातका बीउ, सिँचाइ, मलखाद तथा आधुनिक कृषि प्रविधिको अभावका कारण यहाँका किसान अझै परम्परागत खेती प्रणालीमै निर्भर छन्।

धान उत्पादन वृद्धि गर्ने उद्देश्यले सरकारले दुई दशकअघि राष्ट्रिय धान दिवस मनाउन थाले पनि त्यसको प्रभाव मुगुका खेतबारीसम्म पुग्न नसकेको किसानहरूको गुनासो छ।

छायानाथ–रारा नगरपालिका–५ का किसान प्रेमसिंह कार्कीका अनुसार पर्याप्त वर्षा नहुँदा खेतका गह्रा सुक्खा छन्। रोपाइँ गर्ने मुख्य समयमा किसानले सिँचाइ र मलको अभाव झेलिरहेका छन्। आकाशे पानीकै भरमा खेती गर्नुपर्ने बाध्यताले समयमै रोपाइँ हुन नसकेको उनले बताए।

त्यस्तै, छायानाथ–रारा नगरपालिका–६ का किसान अमरबहादुर कार्कीले धान दिवस औपचारिक रूपमा मनाउनुभन्दा किसानलाई उन्नत जातका धानका बीउ, आधुनिक खेतीसम्बन्धी तालिम र अनुदान उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो। उन्नत बीउ नपाउँदा परम्परागत बीउ प्रयोग गर्न बाध्य भएको उनको भनाइ छ।

सरकारबाट कृषि प्रविधि तथा सीपसम्बन्धी पर्याप्त सहयोग नपाउँदा खेतीपातीबाट जीविकोपार्जन गर्न कठिन हुँदै गएको किसानहरूको अनुभव छ। खेती गर्ने समयमा मल, बीउ र आवश्यक कृषि सामग्रीसमेत सहज रूपमा नपाइने समस्या रहेको उनीहरू बताउँछन्।

सोरु गाउँपालिका–१० का किसान हरिलाल रोकायाले स्थानीय सरकार र कृषि विकास कार्यालय भए पनि दुर्गमका किसानसम्म उन्नत बीउ र आधुनिक कृषि प्रविधिको पहुँच नपुगेकाले धान उत्पादन वर्षेनी घट्दै गएको बताए।

कृषि विकास कार्यालय मुगुको तथ्याङ्कअनुसार जिल्लामा घैया र वर्षे धान गरी चार हजार १९० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ।

कृषि विकास कार्यालय मुगुका कार्यालय अधिकृत अन्जनकुमार मण्डलले कार्यालयमा बाली विकास शाखा नभएकाले धानबाली लक्षित कार्यक्रम सञ्चालन हुन नसकेको बताउनुभयो। किसान कार्यालयमा आएर जानकारी मागेमा आवश्यक प्राविधिक परामर्श भने उपलब्ध गराइने उनको भनाइ छ।

छायानाथ–रारा नगरपालिकाका कृषि शाखा प्रमुख दिपेन्द्र चौधरीले चालु आर्थिक वर्षमा धानबालीसम्बन्धी कुनै विशेष कार्यक्रम नरहेकाले किसानलाई उन्नत जातका धानका बीउ वितरण गर्न नसकिएको जानकारी दिए।

देशभर धान दिवसका अवसरमा विभिन्न कार्यक्रम भइरहेका बेला मुगुका किसान भने उत्पादन वृद्धि गर्न आवश्यक आधारभूत सुविधा, उन्नत बीउ, सिँचाइ र प्राविधिक सहयोगको प्रतिक्षामा छन्।

प्रतिक्रिया