टीकापुर : भजनी नगरपालिका–९, पचमुडिया बजारको मुखैमा एउटा घर छ, घरनजिकै तरकारी बारी छ । पाँच कट्ठा जग्गामा चिचिन्डा, बोडी, भिन्डी, लौका लटरम्म फलेका छन्, खुर्सानीको बेर्ना हुर्किैदै छन् । तरकारी बारी नोहारी चौधरीले हुर्काएको हो । १२ वर्षअघि दुई कट्ठामा तरकारी खेती सुरु गरेकी नोहारीले बर्खामा पाँच कट्ठामा तरकारी लगाउने गर्नुभएको छ भने हिउँदमा एक बिघाभन्दा बढीमा तरकारी लटरम्म फल्ने गरेको छ ।
उनले भनिन, ‘पहिले दुई÷चार कट्ठामा तरकारी लगाउँदा गाउँ गाउँ घुमेर तरकारी बेच्नु पथ्र्यो, अचेल गाडीमा सजिलै हाटबजार लैजान्छौँ ।”
तरकारी खेतीमा नोहारीलाई परिवारका अरू सदस्यले पनि सघाइरहेका छन् । नोहारीकी छोरी सङ्गीता भन्छिन, “दुई वर्षयता चारै जनाले आमाको व्यवसायलाई साथ दिएका छौँ, अलि नयाँ र व्यावसायिक हिसाबले गरिरहेका छौँ ।” सङ्गीताका अनुसार गत वर्ष बगरमा १२ कट्ठामा तरबुजा लगाउँदा ४० हजार रुपैयाँ भन्दा बढीको बिक्री भएपछि यस वर्ष अझ धेरै आय हुने गरी खेती गर्ने तयारी छ । यो गाउँमा नोहारी जस्तै १५–२० परिवारले तरकारी खेती गर्ने गरेका छन् ।
सात वर्षदेखि एक कट्ठा जग्गामा तरकारी खेती गरिरहनुभएकी घोडाघोडी नगरपालिका–१२, खोपाकी रिता चौधरी पछिल्ला चार वर्षयता तीन कट्ठा जग्गामा खेती गरिरहेकी छन् । बाढीले डुबान गर्ने जग्गामा माटो भरेर अग्लो बनाई बाह्रै महिना तरकारी फल्ने बनाइन् । छोराछोरीसहित परिवारका छ जना काममा लाग्ने भएकाले हिउँद र बर्खामा तरकारी लगाएर पनि वर्षमा तीन लाख रुपैयाँभन्दा बढी कमाइ गरिरहेका छन् । छोरी पढाउन, घरखर्च टार्न यत्तिको कमाइले पुगेको रिता बताउँछिन् ।
हिउँदमा डेढ बिघामा तरकारी खेती गरिरहेका टीकापुर नगरपालिका–८, वनगाउँका किसान रामप्रसाद चौधरीले बर्खामा एक बिघामा तरकारी खेती गरेका छन् । कामका लागि भारत पसेका रामप्रसाद २०७७ सालमा गुजरातमा ढुङ्ग्यान जग्गामा तरकारी खेती गरेको देखेपछि आफ्नै मलिलो माटो भएको खेत सम्झेर घर फर्की तरकारी खेतीमा लागेको बताउँछन् । चौधरी भन्छन, “सुरुमा १० कट्ठामा खेती सुरु गरेपछि पछि एक बिघा भाडामा लिर खेती बढाएको छु, वर्षमा नौ लाख रुपियाँभन्दा बढीको तरकारी बेचेको छु ।”
टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाका अनुसार हिउँदमा वनगाउँ क्षेत्र पूरै तरकारीमय हुने गरेको छ । वर्षामा ठुलो मात्रामा तरकारी गर्ने आठ दस जना छन् । किसानले बाह्रै महिना तरकारी खेती गर्दा नजिकका टीकापुर, राजापुर बजारमा आपूर्ति भइरहेको र तरकारी आयात प्रतिस्थापनमा सहयोग पुगेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार