Listen LIVE

खुर्सानी खेतीबाट मनग्य आम्दानी गर्दै बडायक

धनगढी : कैलालीको जानकी गाउँपालिका –४ की सविता बडायक खुर्सानी खेती गरेर राम्रो आम्दानी गर्न सफल भएकी छन् । पाँच कट्ठा जमिनमा विभिन्न प्रजातिको खुर्सानी खेती गरेर उनले आम्दानी गर्न सफल भएकी हुन् । खुर्सानी खेतीबाट भएको आम्दानीले परिवारको खर्च मज्जाले चलेको बडायकले बताइन् । 

“हामी परिवारमा ११ जना छौं” उनले भनिन, “जग्गा धेरै छैन । व्यावसायिक खेती गर्न थालेपछि गुजाराका लागि समस्या छैन ।” खुर्सानीबाट भएको आम्दानीबाटै बालबच्चाको पढाइ खर्च सजिलै धानिरहेको उनले बताइन् । 

सविताको बारीमा विभिन्न पाँच प्रजातिको खुर्सानी फलेको छ । जसमध्ये सोल्जर र सुपर तारा यसवर्ष गजबले फलेको उनले सुनाइन् । प्रतिकेजी चार सयको दरले दसैंदेखि खुर्सानी बिक्री गरिरहेको जनाउँदै उनले भनिन, “अहिलेसम्म नौ क्विन्टल बिक्री गरिसकेको छु ।”

छोटो अवधिमै साढे तीन लाखभन्दा बढीको खुर्सानी बिक्री गरेको उनले सुनाइन् । उनले लगाएको खुर्सानी आगामी जेठसम्म फल्नेछ । निरक्षर सविताले २०७८ सालमा एकीकृत शत्रुजीव व्यवस्थापन (आइपीएम) कृषक पाठशाला तालिम लिएपछि व्यावसायिकरुपमा खुर्सानी खेती सुरु गरेकी थिइन् । 

तरकारी खेती गरेर ठुलो ट्रयाक्टर, पावर ट्रिलर र सानो हाते ट्रयाक्टर किन्न सफल भएको उनले जानकारी दिइन् । “ट्रयाक्टर किनेपछि खुर्सानी खेतीको काम गर्न थप सहज भएको छ” बडायकले भनिन् ।

प्रतिक्रिया