नेपालगञ्ज : भारतबाट अवैधरूपमा भित्रिने तरकारीमा भन्सार कार्यालय र सुरक्षा निकायले कडाइ गर्न थालेपछि बाँकेका स्थानीय कृषकले उत्पादन गरेको तरकारीले बजार र उचित मूल्य पाउन थालेको छ । यसबाट स्थानीय किसान उत्साहित बनेका छन् भने उपभोक्ताले पनि ताजा तरकारी उपभोग गर्न पाएका छन् ।
यसअघि भारतीय बजारबाट सस्तो मूल्यमा आउने तरकारीका कारण स्थानीय किसानलाई आफूले उत्पादन गरेको तरकारी बिक्री गर्न समस्या हुँदै आएको थियो। लागत अनुसारको मूल्य नपाउँदा धेरै किसान खेतीबाट निराशसमेत बन्दै गएका थिए । तर, पछिल्लो समय नाकामा निगरानी बढाइएपछि स्थानीय उत्पादनको माग बढेको किसानहरू बताउँछन् ।
खजुरा गाउँपालिकाका कृषक माया चौधरीले नाकामा कडाइ गरिएपछि स्थानीय उत्पादनप्रति उपभोक्ताको आकर्षण बढेको बताइन् । उनले भनिन, 'हामीले विषादी कम प्रयोग गरेर तरकारी उत्पादन गर्छौँ । अहिले बजारमा हाम्रो तरकारी खोजी–खोजी किन्ने ग्राहक बढेका छन् ।'
राप्तीसोनारी गाउँपालिका–३ बैजापुरका किसान रामलखन थारुले यस वर्ष आफूले उत्पादन गरेको भिन्डी, करेला, लौका र बोडी सहजै बिक्री भएको बताए । उनका अनुसार पहिला भारतीय तरकारी सस्तोमा आउँदा नेपाली तरकारी खेतमै कुहिने गरेको थियो । अहिले व्यापारीहरू आफैँ खेतसम्म आउन थालेका छन्। यस पटक लागतभन्दा राम्रो मूल्य पाइएकाले मेहनतको फल मिलेको महसुस भएको थारुको भनाइ छ ।
नेपालगञ्जको तरकारी बजारमा अहिले स्थानीय काँक्रो, टमाटर, बोडी, करेला, घिरौँला, भिन्डी लगायतका तरकारीको आपूर्ति बढेको व्यापारी बताउँछन् । स्थानीय उत्पादन भएकाले तरकारी ताजा हुने र स्वाद फरक हुने उपभोक्ताको अनुभव छ ।
नेपालगञ्ज उपमहानगरपालिका–१८ नयाँ बस्तीकी गृहणी सरिता शर्माले पछिल्लो समयमा आएर स्थानीय तरकारीप्रति उपभोक्ताको आकर्षण बढेको बताइन् । उनले पहिला बजारमा कुन तरकारी कहाँको हो भन्ने थाहा नहुने गरेकोमा अहिले स्थानीय किसानले ल्याएको ताजा तरकारी पाउन थालिएको जनाइन् । नेपालगञ्ज–१ धम्बोझीका अर्का उपभोक्ता समद सिद्दिकीले भारतीय तरकारीको तुलनामा स्थानीय उत्पादन केही महँगो भए पनि गुणस्तरीय भएकाले किन्ने गरेको बताए ।
कृषि ज्ञान केन्द्र बाँकेका अनुसार स्थानीय उत्पादनले बजार पाएपछि स्थानीय किसान उत्साहित देखिएका छन् । सीमामा कडाइसँगै स्थानीय उत्पादनको संरक्षण, बजार व्यवस्थापन र किसानलाई प्रोत्साहन गर्ने नीति निरन्तर भए कृषिमा आत्मनिर्भर बन्न सहयोग पुग्ने केन्द्रले जनाएको छ । सीमा नाकामा भन्सार कडाइको प्रभावले अहिले नेपाली किसान र उपभोक्ता दुवै लाभान्वित बनेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार