Listen LIVE

रेडियोथेरापी सेवा बन्द हुँदा क्यान्सरका विरामी मर्कामा

नेपालगञ्ज : चितवनदेखि पश्चिमतर्फको एक मात्र क्यान्सर अस्पताल बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा गत एक महिनाभन्दा बढी समयदेखि रेडियोथेरापी सेवा बन्द भएको छ।

अस्पतालको लिन्याक मेसिन बिग्रिएपछि क्यान्सर उपचारको प्रमुख माध्यम मानिने रेडियोथेरापी सेवा अवरुद्ध हुँदा पश्चिम नेपालका क्यान्सरका बिरामीहरू समस्यामा परेका छन्।

दुई दिनअघि मात्रै कार्यकारी निर्देशकका रूपमा सरुवा भएर आउनुभएका डा. निरज भट्टराईले लिन्याक मेसिन बिग्रिएपछि रेडियोथेरापी सेवा बन्द भएको जनाउँदै पदभार ग्रहण गरेलगत्तै मर्मतका लागि पहल सुरु गरिसकेको बताए।

उनले अस्पताल प्रशासनसँग यसबारे विस्तृत जानकारी लिएको तथा मर्मतका लागि हालसम्म गरिएका प्रयासहरूको विवरण समेत माग गरी आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिए।

कार्यकारी निर्देशक डा. भट्टराईले भने, 'रेडियोथेरापी सेवा बन्द हुनुको कारणसहित विस्तृत जानकारी अस्पताल प्रशासनसँग माग गरेको छु। विवरण प्राप्त हुनेबित्तिकै सेवा पुनः सञ्चालनका लागि प्रक्रिया अघि बढाइनेछ।'

पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका क्यान्सरका बिरामीहरूको उपचार हुँदै आएको उक्त अस्पतालको लिन्याक मेसिन बन्द भएपछि दैनिक रेडियोथेरापी सेवा लिने बिरामीहरू अन्य अस्पताल जान बाध्य भएका छन्। खजुरामा सेवा बन्द हुँदा सबैभन्दा बढी समस्या विपन्न तथा आर्थिक रूपमा कमजोर बिरामीलाई परेको छ।

यसअघि अस्पतालको निमित्त प्रमुख रहेका चिकित्सक डा. प्रविण गुप्ताले रेडियोथेरापी मेसिन एक महिनाभन्दा बढी समयदेखि बन्द रहँदा उपचार सेवामा गम्भीर असर परेको बताए। उनले भने, 'लामो समयसम्म लिन्याक मेसिन नचल्दा बिरामीहरू अन्यत्र जान बाध्य भएका छन्। यसलाई यथाशीघ्र मर्मत गरी सञ्चालनमा ल्याउन सरकारले समयमै ध्यान दिनुपर्छ।'

अस्पताल प्रशासनले मर्मतका लागि पटक–पटक स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरे पनि मेसिन मर्मत हुन नसकेको जनाएको छ। अस्पतालका अनुसार दैनिक २५ भन्दा बढी क्यान्सरका बिरामीले रेडियोथेरापी सेवा लिँदै आएका थिए।

तर मेसिन बिग्रिएपछि ती बिरामी उपचारका लागि अन्यत्र जान बाध्य भएका छन्। अस्पतालले सेवा छिट्टै पुनः सञ्चालन गरिने जनाएको छ।

प्रतिक्रिया