बर्दिया : बर्दियाको गेरुवा गाउँपालिका र कैलालीको टीकापुर नगरपालिका जोड्ने सनकट्टीघाटको पुल निर्धारित समयभन्दा तीन महिनाअगाडि निर्माण भएको छ । दुई वटा प्रदेश जोड्ने ७५२ मिटर लामो पुल तोकिएको अवधि अगाडि निर्माण भई सञ्चालनमा आएको हो ।
पुलको केही भागमा दायाँबायाँको छेकबार ढलान, पहुँचमार्ग कालोपत्रे र पुलछेउमा तटबन्धको निर्माण अन्तिम चरणमा पुगेको छ । केही दिनमा सम्पूर्ण काम सम्पन्न गरी पुलको हस्तान्तरण गर्ने काम अगाडि बढाउने तयारी भइरहेको छ ।
करिब एक साताको मात्र काम बचेको ठेकेदार कम्पनी रसुवा कन्स्ट्रक्सनका इन्जिनियर धीरेन्द्र साहनीले बताए । उनले पुलको सबै काम सम्पन्न हुनासाथ नेपाल सरकारलाई हस्तान्तरण गर्ने जानकारी गराए । उनले बिटुमिनलगायतका सामानको अभाव भएको हुनाले कालोपत्रेको काममा ढिलाइ भएको जानकारी गराए । सनकट्टीघाट पुल २०७९ पुसमा निर्माणका लागि सम्झौता भएको थियो । निर्माण सम्झौता भएको पुल निर्माणको सुरुवात २०८१ वैशाखदेखि सुरु भएको थियो । एक अर्ब १८ करोड रुपैयाँको लागतमा पुल निर्माण गर्न सम्झौता भएको हो ।
पुल सेक्टर नेपालगञ्जका सूचना अधिकारी रामकिसुन थारूले १३ वटा स्पान रहेको पुलको १२ वटा पिल्लर र दुई अपार्टमेन्ट रहेको बताए । पुलको दुवैतर्फ गरेर पाँच सय मिटर पहुँचमार्ग, पुलको संरक्षणका लागि एक हजार १६ मिटर तटबन्ध निर्माण अन्तिम चरणमा रहेको छ । पुलमाथिको कालोपत्रेको काम भने सम्पन्न भइसकेको छ । पुलको भारवहन क्षमताको परीक्षण भइरहेको बताए ।
पुल निर्माण भई हस्तान्तरण नभए पनि सर्वसाधारणलाई आवतजावतका लागि भने खुला गरिएको छ । पुलमा आवतजावत गर्न पाएपछि स्थानीयवासी हर्षित भएका छन् । बर्दियाको अत्यन्त दुर्गम पालिका मानिने गेरुवा गाउँपालिकाबाट सहज पहुँचका हिसाबले कैलालीको टीकापुर बजारसम्म सहजै पुग्न सकिन्छ ।
गेरुवा गाउँपालिका–१, बगहीपुरका दयाराम वैद्यले गेरुवाको मुख्य बजार शान्ति बजारबाट २० मिनेटमा मोटरसाइकलमा टीकापुर बजार पुग्न सकिने बताए । उनले राजापुर बजारभन्दा छिटो कैलालीको टीकापुर बजार पुग्न सकिने बताए । गेरुवा गाउँपालिका–४, गिदरपुर बस्ने नरप्रसाद काफ्लेले औषधी उपचार गर्नदेखि कृषि उपज बिक्रीका लागि समेत पुल निर्माणले सहज बनाएको बताए । उनले भने, 'यही पुलले गेरुवा गाउँपालिकाको मुहार फेर्ने छ ।'
यसअघि सनकट्टीघाटबाट गेरुवावासी डुङ्गामा जोखिम मोलेर टीकापुर पुग्ने गरेका थिए । सडक यातायातबाट टीकापुर जानका लागि २० किलोमिटर बढी दुरी पार गरेर राजापुरको सत्तीघाट पुल भएर यात्रा गर्दथे । राजापुर नगरपालिका–१, दौलतपुरबाट कैलालीको टीकापुर जोड्नका लागि झोलुङ्गे पुल निर्माण भएर हालै सञ्चालनमा आएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार