Listen LIVE

श्रीलंकामाथि पाकिस्तानको रोमाञ्चक जित

काठमाण्डौ : घरेलु टोली पाकिस्तानले एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा श्रीलंकाविरुद्ध सात रनको रोमाञ्चक जित दर्ता गरेको छ।

जितसँगै पाकिस्तानले तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ। दोस्रो खेल विहिबार हुनेछ।

रावलपिन्डी क्रिकेट मैदानमा पाकिस्तानले प्रस्तुत गरेको ३०० रनको लक्ष्य पछ्याएको श्रीलंकाले पुरै ओभर ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै २९३ रन बनाउन सक्यो।

श्रीलंकाका लागि वानिन्दु हसरंगाले ५२ बललमा सात चौकाको मद्दतले सर्वाधिक ५९ रनको योगदान गरे। 

यसैगरी सदिरा समराविक्रमाले ३९, कामिल मिश्राले ३८, कप्तान चरिथ अस्लंकाले ३२, पथुम निसंकाले २९, जनिथ लियाङ्गेले २८ र महेश तिक्क्षणाले अविजित २१ रन बनाए।

पाकिस्तानका लागि  ह्यारिस रौफले चार, निशम शाह र फहिम अशरफले समान दुई तथा  मोहम्मद नवाजले एक विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै २९९ रनको योगफल तयार पारेको थियो।

पाकिस्तानका लागि सलमान आघाले ८७ बलमा ९ चौकाको मद्दतले सर्वाधिक १०५ रनको योगदान गरे।  हुसेन टलटले ६३ बलमा ६ चौका र एक छक्कासहित ६२, मोहम्मद नवाजले अविजित ३६, फखर जमानले ३२ र बाबज आजमले २९ रन बनाए।

श्रीलंकाका लागि वानिन्दु हसरंगाले तीन तथा असिस्थ फर्नान्डो र महेश तिक्क्षणाले समान एक विकेट लिए।

प्रतिक्रिया