Listen LIVE

मलका लागि भौतारिँदै किसान

बर्दिया : धान खेतीको मौसम चलिरहेको छ तर बर्दियाका किसान भने रासायनिक मलको खोजीमा दैनिक कष्ट सहन बाध्य छन् । बारबर्दिया नगरपालिका–४, रानीपुर बरबट्टाका किसान रामप्रसाद थारू आइतबार बिहानै गुलरिया नगरपालिका–१० स्थित नेपाल–भारत सीमाक्षेत्रसम्म युरिया मल खोज्न १५ किलोमिटर साइकल चढेर पुगे । मल लिएर फर्कंदासमेत त्यति नै दुरी तय गर्नुपर्ने भएकाले उनले मल खोज्न ३० किलोमिटर लामो यात्रा गर्नुपर्यो ।

थारू मात्र होइन बारबर्दिया र मधुवन नगरपालिकाका सयौँ किसान बिहानैदेखि साइकल हाँकी भारतको भादापुरवा पुग्छन् । उनीहरूलाई मल खरिद गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को निगरानी छल्दै, कहिले त नेपाली सुरक्षाकर्मीलाई फकाउँदै त कहिले भारतीय सुरक्षाकर्मीलाई बिन्ती गर्दै अघि बढ्नुपर्ने बाध्यता छ ।

“देशभित्र मल पाइँदैन । बिहान ४ बजे घरबाट हिँडेका हौँ, गुलरिया पुग्दा ९ बज्यो । अब एक बजेसम्म घर पुगिन्छ भन्ने आस छ,” रामप्रसाद थारूले भने । सुरक्षाकर्मीको त्रास अर्को छ । 

यस्तै समस्या भोगेका रानीपुरका भुलही थारूले भने दिनभरि साइकल चलाएर पनि मल पाउनुपर्ने बाध्यताले खेतीकिसानी कठिन बन्दै गएको बताए ।

बर्दिया जिल्लामा सरकारी ढुवानीमार्फत मल न्यून मात्रामा आउने गरेको छ । पर्याप्त आपूर्ति नहुँदा किसानलाई भारतीय बजारमा महँगो मूल्य तिर्नुपर्ने अवस्था छ । जेठ मसान्तसम्म प्रतिबोरा दुई हजार छ सय रुपैयाँमा पाइने मल हाल भारतीय बजारमा दुई हजार ६५० रुपैयाँसम्म पुगेको छ । 

बर्दियामा मात्रै करिब ५० हजार २५० हेक्टर जमिनमा धान खेती हुने गर्छ । यसका लागि करिब १० हजार मेट्रिक टन युरिया मल आवश्यक पर्छ । गत वर्षको तथ्याङ्क अनुसार बर्दियामा वर्षभरिमा जम्मा छ हजार ३४४ मेट्रिक टन मात्र युरिया भित्रिएको थियो ।

प्रतिक्रिया