Listen LIVE

नेपालगञ्जमा फुड फेस्टिभल सम्पन्न

नेपालगञ्ज : पश्चिम नेपालको आर्थिक केन्द्र नेपालगञ्जमा पहिलो पटक आयोजना गरिएको सडक खाना महोत्सव अत्यधिक सफल भएको आयोजकले जनाएका छन् ।

नेपालगञ्जलाई स्वादका शहरका रूपमा ब्रान्डिङ गर्ने गरी आयोजना गरिएको 'नेपालगञ्ज स्ट्रिट फुड एण्ड बेभरेज फेष्टिबल' २०२६ नामक सडक खाना महोत्सवमा तीन दिनमा ३५ हजार दर्शक पुगेको होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीमलाल कँडेलले जानकारी दिए ।

होटल व्यवसायी सङ्घ बाँके नेपालगञ्ज र तारे होटलहरूको संस्था हान नेपालगञ्ज च्याप्टरको संयुक्त आयोजनामा सञ्चालन गरिएको सो महोत्सवमा २५ देखि ३० हजारसम्म दर्शक ल्याउने लक्ष्य राखिएकोमा सो भन्दा बढी ३५ हजारले महोत्सवमा पुगेर अवलोकन गरेको पाइएको उनले बताए ।

अध्यक्ष कँडेलले भने, 'हामीले पहिलो पटक आयोजना गरेको यस्तो महोत्सवमा सोचे भन्दा बढी स्थानीय बासिन्दाले पुगेर अतिनै हौसला बढाउनुभएको छ, यसबाट अब निरन्तर केही न केही गरिराख्ने आँट आएको छ ।'

त्यस्तै आयोजक संस्था हानका बाँके अध्यक्ष दिवाकर खनालले यो महोत्सव अतिनै सफल भएको देखिएको जनाउँदै यसलाई थप गर्ने माग धेरै जनाले गरेपनि व्यवस्थापकीय बाध्यताका कारण बढाउन नसकिएको जनाउँदै यसलाई नियमित गरिने बताए ।

सो महोत्सव मूल आयोजक समितिका सहसंयोजक होटल व्यवसायी केशव न्यौपानेले लक्ष्य भन्दा बढी मानिसको सहभागिताले नै यसलाई अत्यधिक सफल बनाएको जनाउँदै फेष्टिबलमा सहभागीहरूले साङ्गीतिक कार्यक्रमबाट मनोरञ्जन लिनुका साथै विभिन्न परिकारको स्वाद लिएको बताए ।

सो महोत्सवमा विभिन्न होटल र स्थानीय रैथाने परिकारका ४० वटा स्टल मार्फत सयौँ फरक र स्तरीय स्वाद सहुलियत मूल्यमै पस्किने व्यवस्था मिलाइएको आयोजक होटल व्यवसायी सङ्घले जनाएको छ ।

पाँच तारे होटलमा गएर खाने स्वाद सडकमै निकै सहुलियत मूल्यमा खाने व्यवस्थाले पनि फेष्टिभलमा थप आकर्षण बढेको स्थानीयको भनाइ छ ।

सो महोत्सवमा तीन दिन नै राष्ट्रियस्तरका कलाकारको साङ्गीतिक प्रस्तुति राखिएको थियो । पर्यटन प्रवर्द्धन, स्थानीय परिकारको पहिचान तथा होटल तथा रेष्टुरेन्ट व्यवसायलाई प्रोत्साहन गर्ने उद्देश्यले तीन दिने सडक खाना महोत्सवको आयोजना गरिएको होटल व्यवसायी सङ्घले जनाएको छ ।

प्रतिक्रिया