Listen LIVE

लुकीछिपी भारतबाट महँगोमा मल ल्याउन कृषक बाध्य

धनगढी : मल अभाव खेपिरहेका कैलालीका किसान केही उपाय नलागेपछि लुकीछिपी भारतबाट चर्को मूल्य तिरेर रासायनिक मल ल्याउन बाध्य भएका छन् । 

उनीहरु दोब्बर बढी मूल्य तिरेर युरिया मल भारतबाट ल्याएर खेतमा हाल्न बाध्य भएका हुन् । अहिले रासायनिक मलको चरम अभाव रहेको छ । असारमा रोपाइँ भएको धानमा युरिया मल हाल्न ढिलो भएपछि अन्ततः भारतबाट महँगोमा रासायनिक मल ल्याउन बाध्य भएको किसानको भनाइ छ ।

धानमा फूल लाग्ने बेला उनीहरु मलकै खोजीमा छन् । धानमा हाल्नका लागि जिल्लामा कतै मल नपाएपछि चर्को मूल्य तिरेरै भए पनि भारतबाट युरिया ल्याउन बाध्य भएको कृषक हरिलाल चौधरीले बताए । उनले भने, 'मल नपाएपछि के गर्ने ? लुकीछिपी भए पनि भारतबाट ल्याउनै पर्छ ।'

यतिबेला जिल्लाको सीमावर्ती क्षेत्रमा मोहना नदी आसपास किसानको निकै चहलपहल छ । सिमा पारीबाट त्यहाँका व्यापारीले मल बोकेर नेपाली किसानलाई सिमानासम्म ल्याउने गरेका छन् । भारतकै मान्छेले टाउकोमा बोरा राखेर मल यता ल्याउने भएकाले त्यसको पनि पारिश्रमिक लिँदा महँगो पर्न गएको किसानको भनाइ छ । उनीहरुले प्रतिबोरा दुई हजारदेखि दुई हजार पाँचसयसम्म तिरेर रासायनिक मल ल्याइरहेको बताएका छन् । 

मोहना नदी किनारमा भेटिनु भएका राना थरका एक किसानले भने, 'नेपालमा प्रतिबोरा एक हजार एकसय रुपैयाँमा पाइने युरिया मल भारतबाट दोब्बरभन्दा बढी मूल्य तिरेर ल्याएका छौं ।'

प्रतिक्रिया