Listen LIVE

अन्तुमा चिया टिप्दै विभिन्न देशका राजदूत

इलाम : नेपाली नयाँ वर्ष २०८२ को अवसरमा नेपाल आएका विभिन्न देशका राजदूतले अन्तुमा चिया टिपेका छन् । सोमबार राजदूतहरुले चिया बोक्ने डालो भिरेर चिया टिपेका हुन् ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले सबै राजदूतका लागि यो फरक अनुभव भएको र चिया कसरी तयारी गरिन्छ भन्ने जानकारी प्राप्त भएको बताए ।

राजदूतहरुले टिपेको चिया जोखेर नामसहित राखिएको छ । सूर्योदयका नगरप्रमुख रणबहादुर राईले राजदूतले टिपेको चिया प्रशोधन गरी तयार पारेर उनीहरुलाई पठाइने बताए ।

उनले भने, ‘‘इलामको चिया चिनाउनका लागि हामीले यो प्रयास गरेका हौं ।’’ अस्ट्रेलियाका राजदूत लेनान जोनस्टनले नेपाली चिया पिउन पाए पनि बोटमै आएर चिया टिप्ने अनुभव लिन पाएको बताए । उनले भने, ‘‘यति सुन्दर ठाउँको चिया विश्व बजारमा लैजानका लागि हाम्रो पनि कोशीस हुनेछ ।’’

अनौपचारिक कार्यक्रमअन्तर्गत अन्तुमै चिया टेष्टिङ गराइएको छ । सूर्योदय टि प्रोडुर्सस एशोसिएसन र राष्ट्रिय चिया तथा कफी विकास बोर्ड चिया विस्तर योजना फिक्कलले विभिन्न १६ जातका चिया टेष्टिङ गराएको हो ।

नेपाली चिया विश्व बजारमा प्रवर्धन गर्नका लागि चिया टेष्टिङको कार्यक्रम राखिएको सूर्योदय टि प्रोडुर्सस एशोसिएसनका सचिव गोपाल कट्टेलले जानकारी दिए । चिया टेष्टिङसँगै चियाका प्रकार बारेमा जानकारी गराइएको थियो ।

ब्ल्याक टि, अर्थोडक्स ग्रीन टि, उलङ टि, सिल्भर टी, गोल्डेन टीको स्वाद चखाइएको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड चिया विस्तर योजना फिक्कलका चिया प्राविधिक नविन कोइरालाले जानकारी दिए । अन्तुमै दुधको परिकार चिज र अलैची टेष्टिङको कार्यक्रम समेत आयोजना गरियो ।

नेपाली नयाँ वर्ष २०८२ को अवसरमा नेपालका लागि विभिन्न देशका राजदूत आइतबार इलामको सूर्योदय नगरपालिका आएका थिए ।

परराष्ट्र मन्त्रालय र नेपाल टुरिजम बोर्डको आयोजना तथा इलामको सूर्योदय नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमणअन्तर्गत १५ देशका राजदूत आइतबारदेखि अन्तुमा छन् । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको नेतृत्वमा मन्त्रालयका सचिव राईसहितका कर्मचारी, टुरिजम बोर्डका कर्मचारी राजदूतसहित ४५ जना बढी उच्च तहका पदाधिकारी भ्रमणमा सहभागी छन् ।

भ्रमणअन्तर्गत सोमबार अन्तु पोखरीमा राजदूतलाई डुङ्गा सयर गाउनका साथै माछा झिक्ने (फिसिङ) गराउने कार्यक्रम सम्पन्न भएको नगर प्रमुख राईले जानकारी दिए । उनले परराष्ट्र मन्त्रालयको वार्षिक कार्यक्रम अनुसार अनौपचारिक भ्रमण भएका कारण विभिन्न मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

कार्यक्रममा इजिप्ट, दक्षिण कोरिया, युके, स्वीटजल्याण्ड, थाइल्याण्ड, अस्ट्रेलिया, फ्रेन्स रिपब्लिक, इजरायल, जापान, मलेसीया, श्रीलङ्का, बङ्गलादेश र इसीमोडका राजदूत सहभागी भएको नगरका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले जानकारी दिए । उक्त भ्रमण वैशाख २ गतेसम्मको रहेको छ ।

प्रतिक्रिया