Listen LIVE

बाघ हेर्न बर्दिया निकुञ्जमा पर्यटकको आकर्षण

बर्दिया : कात्तिक महिनामा बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन गर्न १४ हजार ५ सय ४८ पर्यटक भित्रिएका छन् । तीमध्ये सबैभन्दा बढी आन्तरिक पर्यटक रहेको निकुञ्जले जनाएको छ ।

बर्दिया निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत मञ्जु पौडेलका अनुसार गत कात्तिकमा १२ हजार ७ सय ६४ नेपाली पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए । यसैगरी विदेशी १ हजार ५ सय ५० र सार्क मुलुकबाट २ सय ३३ पर्यटक आएका थिए । गत असोजमा भने जम्मा १ हजार ६ सय २२ पर्यटक भित्रिएका थिए । बेमौसमी वर्षाका कारण असोजमा पर्यटक आगमन अपेक्षाकृत कम भएको थियो ।

कात्तिकमा आएका नेपाली पर्यटकमध्ये ७ हजार ८७ पुरुष र ५ हजार ६ सय ७७ महिला थिए । सार्क मुलुकबाट १ सय ३९ पुरुष र ९४ महिला पर्यटक आएका थिए । यसैगरी सोही अवधिमा विदेशी पर्यटकमध्ये ७ सय ८० पुरुष र ७ सय ७० महिला थिए ।

दसैं–तिहार कात्तिक महिनामा परेको र बिदा पनि धेरै दिन भएकाले आन्तरिक पर्यटकको आगमन बढेको पर्यटन व्यवसायी रामजी थापाले बताए । मुख्यतः बाघका लागि प्रख्यात बर्दिया निकुञ्ज स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख गन्तव्य हो । यहाँ आउने पर्यटकले प्रायः हरेक दिन बाघ देख्ने गरेको थापाले बताए । दसैं–तिहारपछि मंसिर लागेयता भने पर्यटक आगमन केही घटेको उनले जानकारी दिए ।

निकुञ्जको मुख्य प्रवेशद्वार ठाकुरद्वारा हो । रम्मापुरबाट पनि निकुञ्ज प्रवेश गर्न सकिने भए पनि ९९ प्रतिशत पर्यटक ठाकुरद्वाराबाटै प्रवेश गर्ने गरेका छन् । पर्याप्त होटल, यातायातलगायत सुविधाका कारण पर्यटक ठाकुरद्वारास्थित निकुञ्जको मुख्यालय हुँदै प्रवेश गर्ने गरेका हुन् ।

पछिल्लो गणनाअनुसार बर्दिया निकुञ्जमा १ सय १२ वटा बाघ छन् । यसैगरी निकुञ्जमा १ सय २० हात्ती रहेको अनुमान छ भने गैँडा ३८ वटा छन् । यीमध्ये केही गैँडा सीमावर्ती भारतको कतर्नियाघाट वन्यजन्तु आरक्षमा पुगेका छन् । बर्दिया निकुञ्ज आउने पर्यटकले जिप सफारी र पैदल अवलोकन गर्ने गरेका छन् । अधिकांश पर्यटक पाटेबाघलगायत वन्यजन्तु अवलोकन गरेर फर्किने गरेको निकुञ्जले जनाएको छ ।

निकुञ्जबाहिर ३० भन्दा बढी साना तथा ठूला होटल छन् । डल्ला होमस्टे पनि पर्यटकको रोजाइमा पर्ने गरेको छ । यहाँ झन्डै २० वटा होमस्टे सञ्चालनमा छन् ।

निकुञ्जबाहेक पर्यटकले खाता जैविक मार्गका डल्ला, पत्थरबोझीलगायत ठाउँको पनि अवलोकन गर्ने गरेका छन् । यसबाहेक यहाँ आउने पर्यटकले निकुञ्ज हाताभित्र रहेको गोही तथा घडियाल प्रजनन केन्द्र, थारू संग्रहालय, दृष्टिविहीन गैँडा र समस्याग्रस्त बाघ राखिएको खोरबाहिरबाट पनि अवलोकन गर्ने गरेका छन् ।

प्रतिक्रिया