Listen LIVE

लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न शुरु

हुम्ला : नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीको लाप्चाबाट यस वर्षको मानसरोवर कैलशको दुरदर्शन गर्ने कार्य शुरु भएको छ । पाँच हजार मिटर उचाई रहेको न्यालु लेकमा जमेको चार फिटलाई एघार दिन लगाएर पन्छाउने कार्य सम्पन्न भएर सडक सुचारु भएपछि आन्तरिक तथा बाह्य पर्यटक लाप्चा पुगेर मानसरोवर कैलाशको दुरदर्शन गर्न शुरु भएको हो । 

पाँच हजार मिटर अग्लो नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको यसवर्षका लागि दुरदर्शन शुरु भएको लिमीका स्थानीय कुन्चोक तामाङले बताए । न्यालु लेक र लाप्चा क्षेत्रको सडकमा जमेको हिउँ स्काभेटरबाट पन्छाउने कार्य पुरा हुनु र पर्यटकीय सिजनसमेत शुरु भएपछि लाप्चासम्म यातायात सेवा सञ्चालनमा आएको र जसको कारण पर्यटक आउन शुरु भएका कारण मानसरोवर कैलाशको दुरदर्शन गर्ने कार्य शुरु भएको उनले बताए । 

यसमा आन्तरिक र बाह्य दुवै खाले पर्यटक आउन शुरु भएको उनले बताए । आन्तरिक भने जिल्ला भित्र र बाहिरका रहेका छन् भने भारतीय धार्मिक पर्यटक आएका हुन् । एक दिन अगाडि मात्र तीन जना भारतको नयाँ दिल्ली, हैदरावाद र उत्तर प्रदेशबाट मोटरसाइकलमा पैदल मार्गबाट आएर दर्शन गरेको लिमीका नेन्दाक लामाले बताए ।

हालसम्म नौ जना भारतीय धार्मिक पर्यटकले दर्शन गरेको र ११५ जना नेपाली पर्यटकले लाप्चा पुगेर मानसरोवर कैलाशको दर्शन गरेको उनले बताए । यसवर्ष लाप्चा पुग्ने पर्यटकको सख्या १२४ जना पुगेको छ । सिजन भर्खर शुरु भएको कारण यसवर्ष धेरै पर्यटक लाप्चा पुग्ने पर्यटक व्यवसायीले बताएका छन् । लाप्चा पुग्ने पर्यटक सिमकोटबाट तीन दिनमा आफ्नो यात्रा पुरा गर्नेछन् । ताक्चीमा होटेलको व्यवस्था भएका कारण यसले यात्रा अझै सहज बनाएको छ ।

प्रतिक्रिया