Listen LIVE

तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै बाँकेका तुल्सीराम

नेपालगञ्ज : रोजगारीका लागि विदेश जान तछाडमछाड गरिरहेका युवाहरूलाई बाँके बैजनाथ–४ का तुल्सीराम थारूले नेपालमै बसेर मिहिनेत गरे मासिक एक लाख रुपैयाँसम्म कमाउन सकिन्छ भनेर देखाई दिएका छन् ।   

बैजनाथ–४ का एकमात्र व्यावसायिक कृषकका रूपमा परिचित थारूले ‘भाइको कृषि फर्म’ नामक फर्म सञ्चालन गरेर सोही फर्ममार्फत २०७७ सालदेखि तरकारी खेती गर्दै आएका छन् । 

तरकारी बेचेरै मासिक एक लाख रूपैयाँसम्म आम्दानी गर्दै आएको जनाउँदै कृषक थारूले गरे नेपालमै धेरै संभावना रहेको आफुले प्रमाणित गरेर देखाइदिएको बताए । 

बैजनाथ ४ तिलकपुरमा २५ कट्ठा जग्गामा तरकारीखेती गरिरहेका थारू सो खेती सुरु गर्नुभन्दा अघि घर बनाउने मिस्त्रीको रूपमा काम गर्थे । मिस्त्री काम गर्दा घरको आर्थिक अवस्था सुध्रिने र आम्दानीको स्रोत बढ्ने नदेखेपछि कृषिमा लागेको उनले बताए । 

‘म दिनभर मिस्त्री काम गर्थेँ । साँझ घर फर्किँदा कृषि हाट बजारमा तरकारी किन्न जान्थेँ । तरकारी किन्न जाँदा हाट बजारमै तरकारी बेचेर मनग्य आम्दानी भइरहेको कुरा थाहा पाएपछि यो व्यवसायमा लागेको हुँ ।’–थारूले भने । 

ठुलो जग्गा खाली रहेको र त्यसैमा व्यवसाय सुरु गर्ने निधो गरेर आफू कृषि व्यवसायमा होमिएको उनको भनाइ छ । अहिले उनी २५ कट्ठा क्षेत्रफल जमिनमा तरकारी खेती गरिरहेका छन् । उक्त जग्गासमेत अपुग भएको उनको भनाइ छ । 

तुल्सीरामले तरकारी खेती सुरु गर्दा बहिनीको विवाहका लागि जम्मा भएको तीन हजार ५०० रूपैयाँ बहिनीसँग सापटी मागेर खेती सुरु गरेका थिए । उनले भने– ‘मसँग व्यवसायका लागि कुनै पनि पैसा थिएन । मैले बहिनीसँग सापटी मागेको हो । उनले विवाहको बेला जम्मा भएको पैसा दिएकी थिइन् । अहिले उसैका कारण लाखौँ कमाउने भएको छु ।’

थोरै लगानी गरेर धेरै आम्दानी गर्न सकिने माध्यम तरकारी खेती नै भएको उनले बताए । उनका अनुसार पहिला मिस्त्री काम गर्दा साहुले भने अनुसारको काम गर्नुपर्ने बाध्यता थियो । अहिले भने आफैँ मालिक भएर काम गर्दा कसैले केही भन्ला भन्ने डर र चिन्ता पनि छैन र आम्दानी पनि सोचे भन्दा धेरै भएको बताए । 

तरकारी खेती प्रवर्धनका लागि स्थानीय सरकारले समेत सहयोग गरेको जनाउँदै कृषक थारूले आफ्नो व्यवसायलाई प्रविधिमैत्री बनाउन विभिन्न सामग्री सहयोग पाएको बताए । गाउँपालिकाले थोपा सिँचाइका लागि मोटर सहयोग गरेको पनि उनको भनाइ छ ।

प्रतिक्रिया