प्युठान : जिल्लाका किसानलाई अहिले धानबाली भित्र्याउन भ्याइनभ्याई छ । जिल्लाकै सबैभन्दा ठुलो फाँट झिमरुक फाँटमा यतिबेला किसानहरु धान भित्र्याउने चटारो छ ।
पानी पर्ने मौसम पूर्वानुमानले धान नकाटी बसेका किसान अहिले धान काट्न र थ्रेसर लगाउन व्यस्त छन् । दसैंअघि नै पाकिसके पनि पानी पर्ने पूर्वानुमानले धान नकाटेको र अहिले धान भित्र्याउन चटारो भएको किसान रिमबहादुर घर्तीले बताए ।
“पानी पर्ने डरले धान काटिएन” उनले भने, “अहिले काम गर्न भ्याइनभ्याई छ ।” तिहारअघि नै धानबाली भित्र्याउन सबै किसान लागिपरेको उनको भनाइ छ । सिँचाइको राम्रो सुविधा भएको झिमरुक फाँटमा समयमै धान रोप्ने र समयमै उत्पादन हुने गर्दछ ।
अझ पछिल्लो समय मेसिन औजारको प्रयोगले खनजोतदेखि अन्य काम गर्न किसानलाई सहज भइरहेको विमला पौडेलले बताइन् । ‘दिनभर लाग्ने काम मेसिनले एकै घण्टामा सकिन्छ’ उनले भनिन् ।
जिल्लामा धान उत्पादन बढाउन राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले धानजोनको रुपमा काम गर्दैआएको छ । चैते धान र बर्खे धान गरी दुई बाली धानखेती गरी उत्पादन बढाउन कार्यालयले किसानलाई सहयोग गर्दैआएको छ । कृषि यान्त्रीकरण, उचित बिउको सिफारिस गरी उत्पादनमा किसानलाई सहयोग गर्दैआएको छ । जसले गर्दा धान उत्पादन र उत्पादकत्वमा समेत वृद्धि हुँदैआएको परियोजनाका कार्यालय प्रमुख चुमानसिंह गिरीले बताए ।
जिल्लाभर ६ हजार पाँचसय हेक्टर क्षेत्रफलमा धानखेती हुनेगरेको छ । त्यसबाट वार्षिक २८ हजार मेट्रिक टन धान उत्पादन हुनेगरेको सरकारी तथ्याङ्क छ । उन्नत बिउ, प्रविधिको प्रयोगले किसानलाई उत्पादन लागत कम भएको गिरीले बताए । मेसिनको प्रयोगलाई अझै बढाउन आवश्यक रहेको उनको भनाइ छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार