बागलुङ : दक्षिण बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थाप जन्मघर भए पनि बागलुङ नगरपालिका–३ गौडाकोटलाई कर्मभूमि बनाउँदै आएका अगुवा कृषक गंगाबहादुर थापाले फुलफुलका बिरुवा हुर्काउन जिल्लामै पहिलोपटक विद्युत र इन्टरनेटमार्फत चल्ने ‘अटोमेसन सिँचाइ’ भित्र्याएका छन् ।
गौडाकोटमा व्यावसायिक तरकारी खेती गर्दै आएका थापाले पाँच रोपनी जमिन भाडामा लिएर बागलुङ नगरपालिका–६ पञ्चकोटमा विद्युत र इन्टरनेटको प्रयोगले सिँचाइ गर्ने फलफुल नर्सरी सञ्चालनमा ल्याएका हुन् । ‘‘अटोमेसन विधिले घरमै बसेर बिरुवालाई आवश्यकता अनुसार सिँचाइ गर्न सकिन्छ’’ थापाले भने, ‘‘‘समय भए फर्ममा काम गर्छु, नभए घरबाटै मोबाइलको सहायताले सिँचाइ गर्छु ।’’
विद्युत र नेटवर्कमा समस्या आएमा धाराबाट थोपा सिँचाइ गर्ने विधि पनि जडान गरेकाले कुनै समस्या नभएको थापा बताउँछन् । थापाले वडा नं. ६ को भास्सा, पञ्चकोट र आसपासको स्थानमा सुन्तलाको वृहद् नर्सरी बनाएका हुन् । वार्षिक ३० हजार रुपैयाँ भाडा तिर्ने गरी स्थानीयको पाँच रोपनी जमिन लिएर थापाले ‘पञ्चकोट कृषि नर्सरी’ सञ्चालनमा ल्याएका हुन् । ‘टाइफ्लेट’ नामक जङ्गली तिनपाते बिरुवाको जरामा स्थानीय ‘खोकु’ जातको सुन्तलालाई कलमी गरेर विषम हावापानी सहने बिरुवा उत्पादन गरिने थापाले बताए ।
थापाको नर्सरी टनेल अटोमेसन प्रविधिको छ । अटोमेसन प्रविधिका लागि २० लाख रुपैयाँ लगानी भएको थापाले जानकारी दिए । अटोमेसन सिँचाइका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलङले प्रविधि र लागत साझेदारीमा साथ दिएको हो । परियोजनाबाट फर्मलाई चार लाख लगानी प्राप्त भएको थापाले बताए । थापाको फर्ममा पाँच हाइटेक टनेल छन् । परियोजना प्रमुख नारायण पौडेलले थापाको फर्ममा जिल्लामै नविनतम प्रविधि भित्रिएको बताए ।
थापाले यो क्षेत्रका किसानलाई अटोमेसन सिँचाइको नर्सरी बनाउने र बाँझीएको जमिनमा सुन्तला फलाउन प्रेरित गर्ने योजना बनाएका छन् । थापाले म्याग्दीको भकिम्लीमा पनि एक सय रोपनी जमिनमा समूहमा मिलेर सुन्तला, किवी र तरकारी खेती गर्दै आएको सुनाए । गौडाकोट, पञ्चकोट र भकिम्लीमा फर्म सञ्चालन गर्नुभएका थापाले कृषि पर्यटन प्रवर्धन गर्ने लक्ष्य बनाएका छन् । धार्मिक पर्यटक बढिरहेको पञ्चकोट कृषि पर्यटनको हब बन्ने सम्भावना छ’’ थापाले भने ।
व्यावसायिक तरकारी खेतीमा थापाको लगाव देखेर तत्कालिन मुख्य सचिव लिलामणि पौडेलले २०७२ सालमा बागलुङ आएर पहिलो किसान परिचयपत्र प्रदान गरेका थिए । ३५ रोपनीभन्दा बढी जमिन भाडामा लिएर तरकारी खेती गर्दै आएका थापाले वार्षिक १५ देखि २० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।