Listen LIVE

किसानलाई आकर्षित गर्न खजुराद्वारा च्याउखेती

खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ सीतापुरले व्यावसायिक खेतीतर्फ किसानलाई आकर्षित गर्ने उद्देश्यले वडामै च्याउखेती गरी बिक्री वितरण सुरु गरेको छ ।

वडाध्यक्ष धनराम वली क्षेत्रीले घरमै बसेर च्याउलगायतका कृषि उत्पादनबाट राम्रो आम्दानी गर्न सकिन्छ भनेर वडावासी किसानलाई सन्देश प्रवाह गर्ने उद्देश्यले च्याउखेती सुरु गरिएको बताए ।

पहिलो पटक किसानबाट उत्पादित च्याउ बिक्री सुरु गरिएको वडाध्यक्ष वलीले बताए । प्रति किलो १२० रुपैयाँको दरले च्याउ बिक्री भइरहेको उनको भनाइ छ ।  पाँच सयभन्दा बढी पोका भएकाले करिब २५ क्विन्टल च्याउ उत्पादन हुने अनुमान गरिएको छ । 

वडाध्यक्ष वलीले भने, ‘‘वडाले उत्पादन गरेको च्याउ भएकाले बजार मूल्यभन्दा सस्तोमा बिक्री गरिएको छ । च्याउ खेतीको निगरानी लगायतका प्राविधिक व्यवस्थापन कृषि शाखाले गरेको छ । बजेट व्यवस्थापन वडा कार्यालयबाट भएको छ ।’’

टनेलमा च्याउखेती भएकाले सामान्य रेखदेखको काम वडाका जनप्रतिनिधि र कर्मचारीको टोलीले गरेको हो ।

वडाले गरेको च्याउ खेतीमार्फत आम वडावासीमा सकारात्मक सन्देश गई उत्पादनसँग आम वडावासीलाई जोड्न सहज हुन्छ भनेर वडाले च्याउखेती गरेको वडाध्यक्ष वलीले बताए । 

वडाले व्यवसायका लागि भन्दा पनि उत्पादनसँग वडावासीलाई जोड्न च्याउखेती गरिएको जनाएको छ ।

प्रतिक्रिया