काठमाण्डौ : विश्वकै सबभन्दा ठूलो खेलकुद मेला ओलम्पिकको ३३औँ संस्करणको औपचारिक उदघाटन फ्रान्सको पेरिसमा आज हुँदै छ। एदघघाटन नेपाली समय अनुसार राति ११ बजे पेरिसमा सुरु हुने छ।
साउन २७ गतेसम्म ओलम्पिक सञ्चालन हुने छ। औपचारिक उदघाटनअघि नै फुटबल, रग्बी सभेन्स, ह्यान्डबल र आर्चरी खेलको सुरुवात भइसकेको छ। पेरिस ओलम्पिकले अहिलेसम्मकै फरक उदघाटन समारोह गर्ने तयारी गरेको छ।
विगतमा ओलम्पिकको उदघाटन समारोह आयोजक सहरको प्रमुख रङ्गशालामा हुन्थ्यो। सो परम्परालाई तोड्दै आयोजकले यसपालि रङ्गशालाको सट्टा पेरिसको सेन नदीको किनारामा उदघाटन गर्ने छ। फ्रान्सका राष्ट्रपति इमानुअल माकरनसमेत सुरुमा यस प्रकारको उद्घाटन समारोहमा विश्वस्त हुन सकेका थिएनन्। उद्घाटन समारोहमा खेलाडीले डुङ्गाबाट सेन नदी र पेरिसबिच दुरी तय गर्ने छन्।
यसबिच सहरका विभिन्न आकर्षक दृश्य देख्न सकिन्छ। सन् २०१७ मा पेरिसले ओलम्पिक आयोजनाको दाबेदारी जितेपछि नै प्रदूषित सेन नदीको सरसफाइ गरिएको थियो। सेन नदीमा ट्रायथलन र लामो दुरीको पौडी प्रतियोगिता हुने छ। सेन नदीमा सय वर्षपछि
प्रतियोगिता हुन लागेको हो। सन् १९२४ मा सेन नदी प्रदूषित भएपछि यहाँ प्रतियोगिता गर्न सय वर्षको प्रतिबन्ध लगाइएको थियो। जुन यस वर्ष सकिएको हो। यसै गरी आइफल टावरको तल रहेको चाम्प डे मार्समा हुने बिच भलिबल पनि ठुलो आकर्षण हुने छ।
पेरिस ओलम्पिकमा दुई सयभन्दा बढी देशका कुल ३२ खेलमा करिब १० हजार पाँच सय खेलाडीले भाग लिने छन्। यसपालि रुस र बेलारुसको ओलम्पिकमा टिम गेममा सहभागिता रहने छैन। यद्यपि आइओसीले तटस्थ खेलाडीका रूपमा रुसी र बेलारुसका खेलाडीलाई पेरिस ओलम्पिकमा आमन्त्रण गरेको छ। ब्रेकिङ खेलले ओलम्पिकमा नयाँ खेल हो।
ओलम्पिककै इतिहासमा पहिलो पटक महिला र पुरुष खेलाडीको सङ्ख्या झन्डै बराबर छ। १२४ वर्षअघि पेरिसमै ओलम्पिक हुँदा यस मेघा इभेन्टमा महिला खेलाडीले पहिलो पटक प्रवेश पाएको थियो। सो समय मात्र २२ महिला खेलाडीले सहभागिता जनाएका थिए। यसै गरी पारालम्पिकमा पनि चार हजार चार सय खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। खेलका लागि ३० हजार स्वयंसेवक
परिचालन गरिने छ। डोपिङ टेस्टका लागि मात्र छ हजार कर्मचारी हुने छन्। ओलम्पिकका लागि पेरिसमा मात्र १५ खेल स्थल छन्। जहाँ ३२ मध्ये २१ खेल सञ्चालन हुने छ। अन्य खेल पेरिस आसपासका सहरमा गरिने छ। १७ दिन चल्ने खेल मेलामा ३२९ इभेन्ट्स हुने छन्। पेरिस ओलम्पिक आयोजनाको आधिकारिक खर्च अहिले ९.६ बिलियन डलर रहेको छ।
पछिल्लो संस्करण टोकियो ओलम्पिकमा कोभिडका कारण ओलम्पिक खेल्ने खेलाडी, समर्थक मात्र होइन जापानी जनता पनि ओलम्पिकलाई लिएर उत्साहित थिएनन्। सो समय सबैले कोरोना भाइरसको डरमा ओलम्पिक खेलेका थिए। यसपालि पेरिसमा ओलम्पिकको उत्साह फरक हुने छ। ओलम्पिकको बहानामा पेरिसको वास्तुकला, कला र इतिहास हेर्न १५ मिलियन पर्यटक पेरिस पुग्ने छन्।
पेरिस ओलम्पिक एक करोड तीस लाखले प्रत्यक्ष हेर्ने अनुमान गरिएको छ। टेलिभिजनमार्फत चार अर्ब मानिसले ओलम्पिक हेर्ने दाबी पनि आयोजकको रहेको छ।
पेरिस ओलम्पिकका लागि ८० लाख टिकट बिक्री भइसकेका छन्। जसबाट अहिले नै सबैभन्दा बढी दर्शकले हेरिने ओलम्पिक हुने पक्का भइसकेको छ। ओलम्पिक सकिँदासम्म एक करोड टिकट बिक्री हुने अनुमान गरिएको छ। आयोजकले पेरिस ओलम्पिकलाई भव्य बनाउन कुनै कसर नछोड्ने बताएको छ। पेरिसमा सुरक्षा व्यवस्थाका लागि करिब २० हजार सेना र ४० हजार प्रहरी परिचालन गरिने जनाइएको छ। यसबाहेक अन्य देशका थप दुई हजार सेना र पुलिस अधिकारी पनि हुने छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार