Listen LIVE

कर्णाली राजमार्ग अवरुद्ध हुँदा नेपालगञ्ज आउने स्याउ बाटोमै अलपत्र

नेपालगञ्ज : चार दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध हुँदा करोडौँ रुपैयाँको स्याउ अलपत्र परेको छ । कालीकोटको गगनेखोला, एसमोड, दैलेखको मालाचौर, दहीखोलामा खसेको पहिरोले सडक अवरुद्ध भएको हो । 

हुम्ला, मुगुबाट सुर्खेत, नेपालगञ्ज स्याउ बोकेर हिँडेका सयौँको संख्याका गाडी तथा यात्रुवाहक बस कालीकोट र दैलेखखण्डको सडकमा अलपत्र अवस्थामा छन् । कालीकोटको शुभकालिका गाउँपालिका–१, गगनेखोला सडकको पहिरो हटाउन यहाँ उपलब्ध स्रोतसाधनका साथै जुम्ला सडक डिभिजन कार्यालयसँग आवश्यक समन्वय गरी काममा तीव्रता दिइएको जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए । 

प्रमुख जिल्ला अधिकारी नेपालीले भने, “पहिरोले एसमोड, कालीकोट र दैलेखको सीमामा रहेको दहीखोलाको मोटरेबल पुलमा पनि क्षति पुगेको छ । यही भदौ १२ गते बेलुका गएको पहिरोबाट अवरुद्ध कालीकोट सडकखण्ड आज बेलुकासम्म खुलाउने प्रयासमा छौँ । त्यसका लागि पहिरो पन्छाउने काम निरन्तर भइरहेको छ । दैलेखमा पनि पहिरो पन्छाउने प्रयास भइरहेको छ ।” 

दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले यथाशीघ्र सडकमा आगमन सञ्चालन होस् भनेर तीन दिनदेखि राकममा बसेर स्रोत परिचालन गरिँदै आएको बताए । “हामीले तीनवटा स्काभेटर लगाएर आठबीस नगरपालिकास्थित मालाचौरमा गएको पहिरो पन्छ्याइसकेका छौँ,” उनले भने, “किटुखोलामा सडक भासिएकाले तलबाट पर्खाल लगाउने काम भइरहेको छ ।” पहिरो पन्छाउने काम तीव्र गति गर्न सुर्खेत र नेपालगन्जबाट बुलडोजर मगाइएको प्रजिअ भुसालले जानकारी दिए । उनका अनुसार, सडकको पहिरो पन्छाएर नियमित आवतजावत हुन अझै दुई दिन लाग्नेछ । 

हिलो भएको ठाउँमा ढुंगा राखेर पैदल हिँड्ने यात्रुलाई सहयोग गरिएको उनले बताए । त्यसका निम्ति प्रहरीले सहयोग गरे पनि स्याउ बोकेका गाडी सडकमै थन्किएका छन् । समयमै नेपालगञ्ज, सुर्खेत गाडी पुर्याउन नसके लाखौँको क्षति हुने जुम्लाको चन्दननाथ नगरपालिका–९ का स्याउ व्यापारी रामबहादुर खत्रीले दुखेसो पोखे । “केही आम्दानी लिने आशा बोकेर स्याउ झारियो, चार दिनदेखि बाटोमा थन्किएको छ,” उनले भने, “दैनिक गाडी चालक र सहचालकलाई खानबस्न व्यहोर्दै खर्च भइरहेको छ भने त्यसैगरी स्याउ ढुवानी भाडा बढी तिर्नुपर्ने अवस्था छ ।”

प्रतिक्रिया