Listen LIVE

बाँदरका कारण जानकीका बासिन्दा आतंकित

नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिकामा केही समय यता ठुलो संख्यामा आएका बाँदरका कारण स्थानीयहरु आतंकित बनेका छन् । 

वडा नम्वर ५ गुरुवा गाउँमा बाँदरले बालीनालीमा क्षति गर्नुका साथै घरमा भएको सामान लैजाने र विशेषगरी स्कुले बालबालिकामाथि आक्रमण गर्ने गरेपछि स्थानीयहरु त्रसित छन् ।

गत केही समय यता जानकी गाउँपालिका वडा नम्वर ५ स्थित गुरुवा गाउँमा बाँदरको समूहले आतंक मच्चाउँदै आएको छ । दिउँसै गाउँ–टोलमै प्रवेश गरी घरमा भएको सामान लैजाने र विद्यार्थीमाथि आक्रमण गर्दा केही बालबालिका घाइते  भएको स्थानीय धनपति भुजवाले बताइन् । 

उने घरमा कोही नभएको मौका पारी बाँदरले सरसामान फालिदिने, खाने र लैजाने गरेको पनि बताइन् । बाँदरले विद्युत तथा नेटका तार समेत छिनाल्ने गर्दा स्थानीय आजित भएका छन् । 

बाँदर दिनरात कुनै पनि बेला घरमा प्रवेश गर्ने र खाना लगायतका खाद्यवस्तु खाने तथा बालबालिकालाई आक्रमण गर्नुका साथै ढोकाहरु खोलेर भाँडा उठाएर लग्ने र पकाएको खाना समेत लगिदिने गरेको अर्का स्थानीय मोहनकुमार मिश्रको गुनासो छ ।

सोही प्रकारले विद्यालयमा प्रवेश गरी विद्यार्थीको खाजा खोसेर खाइदिने लगायतका क्रियाकलापबाट आफूहरु समस्यामा परेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थी सिताराम वर्मा र अमिन साइको दुखेसो छ । 

विद्यालयमा पढाइरहेको समयमा कक्षा कोठामा समेत बाँदर प्रवेश गर्ने गरेका कारण विद्यार्थी आतंकित भइ पढाइ प्रभावित भएको राष्ट्रिय आधारभूत विद्यालय गुरुवागाउँ ५ की प्रधानाध्यापक सन्ध्या शर्माले बताइन् । बाँदर नियन्त्रण तथा टाढा भगाउने काम स्थानीय सरकारले गर्नु परेको प्रधानाध्यापक शर्माले माग गए । 

बढ्दो बाँदर आतंक नियन्त्रणका लागि स्थानीय सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ बाट नीति तथा कार्यक्रममा बजेट विनियोजन गरेर कार्यक्रम बनाइने वडा ५ का वडा अध्यक्ष टिकानाथ यादवले बताए । 

प्रतिक्रिया