नेपालगञ्ज : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जले बाँकेका किसानहरूसँग नौ करोड रुपैयाँभन्दा बढीको धान खरिद गरेको छ ।
गत कात्तिक २० गतेबाट किसानका धान खरिद गर्न लागेको नेपालगञ्ज कार्यालयले मङ्सिर ३० गतेसम्म बाँकेका किसानहरूसँग नौ करोड ७७ लाख २३ हजार २४९ रुपैयाँको धान खरिद गरेको हो ।
कात्तिक २० गतेदेखि मङ्सिर ३० गतेसम्मको समय अवधिमा खाद्यले २७ हजार ४९२ दशमलव ४४ क्विन्टल धान खरिद गरेको छ । जसमध्ये मोटा धान ४२१३.३४ क्विन्टल र मध्यम धान २३२७९.१० क्विन्टल धान खरिद गरेको कार्यालयका सूचना अधिकारी वरिष्ठ सहायक शिवराज घिमिरेले बताए ।
सूचना अधिकारी घिमिरेका अनुसार मोटा धान एक करोड ४३ लाख ६९ हजार ६३८ रुपैयाँ र मध्यम धान आठ करोड ३३ लाख ५३ हजार ६११ रुपैयाँ गरी कुल नौ करोड ७७ लाख २३ हजार २४९ रुपैयाँको धान खरिद गरिएको हो ।
हालसम्म धान बिक्री गर्नका लागि ६७३ जना किसानले स्थानीय तहको सिफारिस दर्ता गराएको घिमिरेले जानकारी दिए । उनका अनुसार सिफारिस दर्ता गराएका मध्ये ४८२ जना किसानसँग धान खरिद गरिएको छ । साथै चार वटा सहकारीमार्फत पनि धान खरिद गरिएको उनले बताए । चार वटा सहकारीमार्फत मोटा धान २२४.५८ क्विन्टल र मध्यम धान ८३९.२८ क्विन्टल गरी १०६३.८६ क्विन्टल धान खरिद गरिएको उनले बताए । उनका अनुसार ४८२ जना किसान र चार वटा सहकारीमार्फत गरी हालसम्म २७४९२.४४ क्विन्टल धान खरिद गरिएको हो ।
मोटा धानको तीन हजार ४१० रुपैयाँ ५१ पैसा र मध्यम धानको तीन हजार ५८० रुपैयाँ ६२ पैसा सरकारले तोकिदिएको न्यूनतम समर्थन मूल्यमा किसानसँग धान खरिद गरिरहेको सूचना अधिकारी घिमिरेले बताए ।
गत वर्षभन्दा १५ दिन अगावैबाट धान खरिद गर्न लागेको नेपालगञ्ज कार्यालयले यस वर्ष ४० हजार क्विन्टल खरिद गर्ने लक्ष्य लिएको थियो तर मध्यम धान बिक्री गर्ने किसानको चाप बढेपछि खाद्यले केन्द्रीय कार्यालयसँगको सहमतिमा थप १५ हजार क्विन्टल मध्यम धान खरिद गर्ने गरी ५५ हजार क्विन्टलको लक्ष्य लिएको छ ।
३० हजार क्विन्टल मोटा धान र १० हजार क्विन्टल मध्यम गरी यस वर्ष ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको नेपालगञ्ज कार्यालयले पछि मध्यम धानलाई १५ हजार क्विन्टल थप गरी ५५ हजार क्विन्टल खरिद गर्ने लक्ष्य लिइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जका मुख्य शाखा प्रमुख रामशरण लामिछानेले बताए ।
“यस वर्ष हामीले नेपालगन्ज कार्यालयबाट ३० हजार क्विन्टल मोटा र १० हजार क्विन्टल मध्यम गरी ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएका थियौँ, यहाँका किसानहरूले मध्यम धानको खेती बढी गर्ने गरेको पाइयो, किसानहरूले धेरैजसो मध्यम धान बिक्री गर्न ल्याउनुभयो ।” लामिछानेले भने, “मध्यम धान धेरै आएपछि केन्द्रीय कार्यालयसँगको समन्वयमा मध्यम धान थप १५ हजार क्विन्टल खरिद गर्ने गरी कुल ५५ हजार क्विन्टलको लक्ष्य राखेका छौँ ।”
बाँकेका किसानहरू पछिल्लो समयमा मोटाभन्दा मध्यम धान उत्पादनतर्फ आकर्षित भएको उनले बताए । “२५ हजार क्विन्टल खरिद गर्ने लक्ष्य रहेको मध्यम धान हालसम्म २३ हजारभन्दा बढी क्विन्टल खरिद गरिसकेका छौँ, हामीले २५ हजारभन्दा बढी खरिद गर्न सक्दैनौँ ।” लामिछानेले भने, “लिमिटेसन पूरा भइसकेपछि यदि कोही किसान मध्यम धान बिक्री गर्न इच्छुक भए मोटा धानको मूल्यमा खरिद गर्न सक्छौँ तर मध्यम धानको मूल्यमा खरिद गर्न सक्दैनौँ ।”
गत वर्ष ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको नेपालगन्ज कार्यालयले जम्मा आठ हजार क्विन्टल धान खरिद गरेको थियो । “गत वर्ष हामीले ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएका थियौँ, लक्ष्य भन्दा निकै कम जम्मा आठ हजार क्विन्टल मात्र खरिद गर्न सक्यौँ ।” लामिछानेले भने, “गत वर्ष सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यभन्दा बजारमा किसानहरूले बढी मूल्य पाए र बजारका गल्ला व्यापारी र मिलहरूमा लगेर बिक्री गरे, हामीले न्यून मात्रामा खरिद गर्न सक्यौँ ।”
गत वर्षभन्दा यस वर्ष सरकारले न्यूनतम समर्थन मूल्य पनि बढाएको र धान खरिद पनि १५ दिन अगाडिबाटै सुरु गरिएको हुँदा लक्ष्य पुरा गर्न सकिने अपेक्षा गरिएको उनले बताए । “गत वर्षभन्दा यस वर्ष सरकारले पनि न्यूनतम समर्थन मूल्यमा वृद्धि गरेको छ, गत वर्षभन्दा यस वर्ष धान खरिद पनि १५ दिन अगाडिबाट सुरु गरेका छौँ, त्यस कारण यो वर्ष लक्ष्यमा पुग्न सकिन्छ भन्ने अपेक्षा गरेका छौँ ।” लामिछानेले भने, “गत वर्ष मङ्सिर ६ गतेबाट धान खरिद सुरु गरेका थियौँ, यस वर्ष भने १५ दिन अगावै कात्तिक २० गतेदेखि नै सुरु गरेका छौँ, यस वर्ष बजारको मूल्य भन्दा सरकारले खरिद मूल्य बढी दिएको हुँदा पनि लक्ष्य पुरा गर्ने आशामा छौँ ।”
पहिला पहिला किसानहरू १५ दिनसम्म खाद्यमा आएर लाइन लागेर बस्नुपर्ने बाध्यता भएका कारण यस वर्ष धान ल्याउन पूर्व नै स्थानीय तहको सिफारिस ल्याएर दर्ता गर्ने र कार्यालयले दिएको समयमा किसानहरू आएर धान बिक्री गर्ने व्यवस्था मिलाएको कार्यालयले जनाएको छ । यसो गर्दा किसानहरू लाइन लागेर बस्नुपर्ने बाध्यता नहुने र समय पनि बचत हुने गरेको कार्यालयको भनाइ छ ।(गोरखापत्रबाट)
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार