Listen LIVE

बाँकेको नरैनापुरमा भूमि प्रशासनसम्बन्धी सेवा सुरु

नेपालगञ्ज : बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकामा भूमि प्रशासनसम्बन्धी सेवा सुरु भएको छ । स्थानीय तहमा सेवा सुरु भएसँगै भौगलिक विकटता, कमजोर यातायात पहुँच र सरकारी सेवा लिन लामो दूरी तय गर्नुपर्ने बाध्यतामा रहेका स्थानीयलाई जग्गासम्बन्धी काम गर्न सहज भएको छ ।

सो गाउँपालिकाले भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालनमा ल्याएसँगै अब स्थानीय नागरिकले जग्गा पास, कित्ताकाट र नामसारीलगायत सेवा ग्रामिण भेगमै पाउने भएका छन् ।

सेवा शुभारम्भ गर्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले स्थानीय नागरिकलाई सहज रूपमा सरकारी सेवा उपलब्ध गराउन भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरिएको जानकारी दिए । उनले भने, 'अब नरैनापुरका नागरिकले जग्गा पास, कित्ताकाट, नामसारीलगायत कामका लागि सदरमुकाम धाउनुपर्ने अवस्था रहने छैन । यसबाट नागरिकको समय र खर्च बचत हुनाका साथै सेवा प्राप्त गर्न पनि सहज हुनेछ ।'

अध्यक्ष शाहले स्थानीय तहबाटै सेवा प्रवाह हुन थालेपछि नागरिकले भोग्दै आएको प्रशासनिक झन्झट कम हुनाका साथै सरकारी सेवामा स्थानीयको पहुँच पनि विस्तार हुने विश्वास व्यक्त गरे ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले देशभरको ३४औँ शाखाका रूपमा नरैनापुरमा भूमि व्यवस्थापन शाखा स्थापना गरी सेवा सञ्चालनमा ल्याउन सफल भएको बताए । उनका अनुसार सेवा सञ्चालनका लागि आवश्यक संस्थागत तथा प्राविधिक व्यवस्थापन मिलाइएको छ । आगामी दिनमा सेवालाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउँदै लैजाने योजना रहेको उनले बताउए ।

'स्थानीय नागरिकले सामान्य सरकारी सेवा लिन पनि टाढा जानुपर्ने अवस्थाको अन्त्य गर्न हामीले सेवा विस्तारलाई प्राथमिकता दिएका छौँ, आवश्यक जनशक्ति र प्रविधिको व्यवस्थापन गर्दै सेवालाई प्रभावकारी बनाउने हाम्रो प्रयास रहनेछ,' प्रमुख प्रशासकीय अधिकृत वलीले भने ।

भूमि व्यवस्थापन शाखा सञ्चालनमा आएको अवसरमा पहिलो सेवाग्राहीका रूपमा नरैनापुर–५ का विनय दीक्षित र नरैनापुर–४ का अमिद अहमद खाँलाई लालपुर्जा प्रदान गरिएको थियो ।

प्रतिक्रिया