Listen LIVE

केरा व्यवसायी किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाण्डौ : प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा नेपालमा उत्पादित केराको बजार व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।

समितिको आजको बैठकमा सांसदहरुले केरा खेती गर्ने किसानलाई राज्यले अनुदानको व्यवस्था गर्नुपर्ने, किसानको मागप्रति सरकार संवेदनशील बन्नुपर्ने, किसानमैत्री नीति बनाएर देशलाई केरा खेतीमा आत्मनिर्भर बनाउनुपर्ने बताइएको छ ।

सांसदहरुले भारतबाट हुने केरा आयातमा भन्सार दर बढाउनुपर्ने, आयातलाई न्यूनीकरण गरेर नेपालमा उत्पादित केराको बजारीकरणमा ध्यान दिनुपर्नेमा जोड दिए ।

बैठकमा कृषि तथा पशुपन्छी बिकास मन्त्रालयका सचिव डा. दिपक कुमार खरालले नेपालमा उत्पादित केराको बजार व्यवस्थापनमा ध्यान दिनुपर्ने र अवैध आयात रोक्न आवश्यक रहेको बताए ।

अर्थ मन्त्रालयका सहसचिव टंक प्रसाद पाण्डेले आयातित केराको भन्सार दरमा मन्त्रालय संवेदनशील रहेको, खुला सिमानाका कारण हुने गरेको चोरी, पैठारी रोक्न सहकार्य र समन्वयात्मक प्रयास आवश्यक रहेको र केरा किसानका समस्या समाधानका लागि नीतिगत सहजताका लागि पनि मन्त्रालय जानकारी दिए ।

देशको अर्थतन्त्रलाई बलियो बनाउन किसानका जायज माग पुरा गर्नुपर्ने र नीतिगत असहजता हटाउनका लागि पहल जरुरी रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

नेपाल केरा उत्पादक महासङका अध्यक्ष विष्णुहरि पन्तले चाडबाडका समयमा आवश्यक पर्ने केरा नेपालमा नै उत्पादन भइरहेको भन्दै विदेशी केरा आयातमा रोक लगाउन सुझाव दिए ।

बैठकमा केरा किसानका प्रतिनिधिहरूले आफूहरूले उत्पादन गरेको केराले बजार पाउने अवस्था निर्माण गर्नुपर्ने र बजार सुनिश्चित गरी किसानका समस्या समाधानमा ध्यान दिन सरकारलाई आग्रह गरे ।

प्रतिक्रिया