बर्दिया : गत साउन महिनामा बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि बन्द गरिएको जीप सफारी सञ्चालनमा आएको छ । जीप सफारी सञ्चालनमा आएपछि पर्यटक आगमन पुरानै लयमा फर्किन थालेको छ ।
जेन–जीको आन्दोलनपछि बर्दिया निकुञ्जमा जीप सफारी खुलेको हो । बर्दिया निकुञ्जका सूचना अधिकारी एंव वरिष्ठ संरक्षण अधिकृत सरोजमणि पौडेलले जेन–जीको आन्दोलनले पर्यटक आगमन प्रभावित भएपनि अहिले दैनिक १५–२० जना विदेशी र धेरै नेपाली पर्यटकको आगमन बढेको बताए । वर्षात्को समय भएकोले पर्यटक आगमन कम भएपनि दसैंसम्म पर्यटक वृद्धि हुने विश्वास रहेको पौडेलले बताए । उनले भने,’ ‘एक महिना अघि बन्द रहेको जीप सवारी पर्यटकका लागि सञ्चालनमा ल्याएका छौं ।’
पर्यटन व्यवसायी भने पर्यटक आगमन निराशाजनक रहेको गुनासो पोख्छन् । अमेरिका लगायत मुलुकका सरकारले नेपाल भ्रमणमा रोक लगाएपछि आउन छाडेको पर्यटन व्यवसायी कृष्ण प्रसाद भटटराईले बताए । उनले वर्षातको मौसम भएका कारण पनि पर्यटक आगमन कमै रहेको जनाए । नेपाली पर्यटक भने आउने क्रम रहेको छ ।
पर्यटन व्यवसायी रामजी थापाले स्वदेशी र विदेशी पर्यटक आउने क्रम बढेको बताउँछन् । बुकिङ गरेका पर्यटक आउन थालेको उनको भनाइ छ । बर्दिया राष्ट्रिय निकुञ्जमा आर्थिक वर्ष ०८१–०८२ मा २८ हजार ६८ जना स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गरेका छन् ।
आव ०८०–०८१ को तुलनामा २ हजार बढी पर्यटकले अवलोकन गरेका थिए । गत आवमा नेपाली १९ हजार १०, सार्कका १ हजार ५ सय ४० र विदेशी ७ हजार ५ सय १८ जना पर्यटक भित्रिएका बर्दिया निकुञ्जले जनाएको छ । आव ०८०–०८१ मा नेपाली १८ हजार १०, सार्कबाट १ हजार ४ सय ३७ र विदेशी ६ हजार ६ सय ८४ जना पर्यटक आएका थिए ।
विश्वमै पाटे बाघका लागि ख्याति कमाएको बर्दिया राष्ट्रिय निकुञ्जमा विगत केही वर्षयता आन्तरिक, सार्क र विदेशी पर्यटकको संख्या बढ्दै गएको छ । निकुञ्जमा केही वर्ष यता पर्यटक आगमन बढ्दै गएको छ । बर्दिया निकुञ्जका अनुसार आव ०७८–०७९ मा १६ हजार २ सय ९७,आव ०७९–०८० मा २४ हजार ३ सय ९८ जना पर्यटकले अवलोकन गरेका थिए ।
निकुञ्ज प्रवेश गर्न आउने आन्तरिक पर्यटकले १ सय, सार्कका ७ सय ५० र विदेशी पर्यटकका लागि १ हजार ५ सय शुल्क लाग्ने गरेको छ । बर्दिया निकुञ्जमा आउने अधिकांश पर्यटकको ईच्छा बाघ हेर्ने भएकोले आउने गरेको वरिष्ठ संरक्षण अधिकृत पौडेलले बताए । ‘बर्दिया निकुञ्जमा १ सय २५ बाघ रहेका छन्,’ उनले भने, ‘बर्दिया निकुञ्जमा १ सय २० हात्ती रहेको अनुमान छ । त्यसै गरि गैंडा ३८ वटा रहेका छन् । यीमध्ये कतीपय गैंडा सिमावर्ती भारतको कतरनिया वन्यजन्तु आरक्षमा पुगेका छन् ।’
बर्दिया निकुञ्जमा आउने पर्यटकले जीप सफारी र पैदल अवलोकन गर्ने गरेका छन् । अधिकांश पर्यटकले पाटे बाघ लगायत अन्य वन्यजन्तुको अवलोकन गरि फर्किने गरेका छन् । बर्दिया निकुञ्ज बाहिर ३० बढी साना र ठूला होटल रहेका छन् । डल्ला होम स्टे पनि पर्यटकको रोजाईमा पर्छन् । यहाँ झण्डै २० वटा होमस्टे रहेका छन् ।
निकुञ्जबाहेक पर्यटकले खाता जैविक मार्गको डल्ला, पत्थरबोझी लगायतका ठाउँको अवलोकन गर्ने गरेको निकुञ्जले जनाएको छ । यस बाहेक यहाँ आउने पर्यटकले निकुञ्ज हातामा रहेको गोही, घडीयाल प्रजनन केन्द्र, थारु संग्राहलय, दृटिविहीन गैंडा र समस्याग्रस्त बाघ थुनिएको खोर बाहिरबाट अवलोकन गर्ने गरेका छन् ।