नेपालगञ्ज : बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएका विभिन्न गाउँबस्तीमा वन्यजन्तु घरमा छिरेर खाद्यान्नलगायतका अन्नमा क्षति पु¥याउन थालेपछि खाद्यान्न जोगाउन विभिन्न उपाय अपनाउन थालिएको छ । केही ठाउँमा वन्यजन्तुको पहुँच नहुने गरी अग्लो सामूहिक अन्नभण्डार निर्माण पनि गर्न थालिएको छ ।
बर्दियाको खाता जैविकमार्गमा वन्यजन्तुबाट खाद्यान्न जोगाउन मधुवन नगरपालिका–१, पत्थरबोझीमा सामूहिक अग्लो अन्नभण्डार भवन निर्माण गरिएको छ । डिभिजन वन कार्यालय, उज्यालो नेपाल, मधुवन नगरपालिका र स्थानीयको श्रमदान गरी करिब १३ लाख रुपैयाँमा सो भवन निर्माण गरिएको मधुवन नगरपालिका–१ का वडा सदस्य धनीराम थारूले बताए ।
किसानसमेत रहेका वडा सदस्य थारूले ९० प्रतिशत कच्ची घर रहेका पत्थरबोझीमा हात्तीले घर भत्काएर किसानले जम्मा गरेको खाद्यान्नमा नोक्सान पुर्याउन थालेपछि यहाँ अग्लो पक्की भवन निर्माण गरिएको बताए । मधुवन नगरपालिका र उज्यालो नेपालको सहयोगमा उक्त भवन निर्माण गरिएपछि त्यहाँका किसानले धान, गहुँ, तोरीलगायतका खाद्यान्न ल्याएर उक्त भवनमा राख्न थालेका छन् ।
करिब ३० हजार किलो अन्नभण्डार क्षमताको सो अन्नभण्डार भवन निर्माण भएपछि सो क्षेत्रका किसान लाभान्वित हुन थालेको उज्यालो नेपालका जिल्ला अध्यक्ष नवराज न्यौपानेले बताए ।
उनका अनुसार सो भवनको माथिल्लो तलामा अन्नभण्डार छ भने तल्लो तलामा कुटानीपिसानी मिल रहेको छ । हात्तीबाट प्रभावित किसानले सो भवनमा अन्नभण्डार गर्न थालेका छन् ।
अन्नभण्डार भवन निर्माण भएपछि किसानले भित्र्याएको अन्नको सुरक्षा हुनुका साथै जिउधनको क्षति रोकिएको मधुवन नगरपालिका–१ का किसान एवं वडा सदस्य थारूले बताए ।
उनका अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज र खाता जैविकमार्गमा पर्ने पत्थरबोझी गाउँ भएर अधिकांश वन्यजन्तु ओहोरदोहोर गर्ने गर्छन् । चालु आवमा सो ठाउँका करिब एक दर्जन घर हात्तीले भत्काएर क्षति पुर्याएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार