Listen LIVE

जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिक भित्रिँदै

नेपालगञ्ज : नेपाल–भारत जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि ६ वर्षपछि आवतजावत सुरु गरिएको छ । छ वर्षअघि कोरोनाकालदेखि जमुनाहा नाकाबाट तेस्रो मुलुकका पर्यटक जमुनाह हुँदै नेपाल आउन जान बन्द गरिएको थियो । तेस्रो मुलुकका नागरिकका लागि आगमन र प्रस्थान पूर्णरूपमा सञ्चालन गरिएकाले पर्यटकलाई सहज भएको छ ।

जमुनाहास्थित अध्यागमन कार्यालय बाँकेकी प्रमुख दुर्गा वलीले जमुनाहा नाकाबाट आवतजावत गर्ने कुनै पनि पर्यटकलाई अबदेखि असहज नहुने बताइन् । उनले यसबाट पर्यटनका क्षेत्रमा धेरै राम्रो हुने बताइन् । उनले यो नाकाबाट आवतजावत हुने भएपछि यहाँका होटेल चलायमान हुने र त्यसबाट आर्थिक कारोबार पनि बढ्न सक्ने औँल्याइन् ।

पर्यटकको आवागमन सुरु भएपछि तेस्रो मुलुकबाट जमुनाहा नाका हुँदै आउने पर्यटक बाँके र बर्दियाका पर्यटकीय स्थलसम्म पुग्न सक्ने र त्यसबाट राजस्व सङ्कलन बढ्ने विश्वास गरिएको छ । नेपालगन्जका पर्यटन व्यवसायी केशव न्यौपानेले तेस्रो देशका नागरिकको आवागमन पुनः सुचारु भएपछि दुवै देशलाई लाभ हुने उल्लेख गरे ।

उनले भारत हुँदै जाने तेस्रो मुलुकका पर्यटकले सिधै नेपालका पर्यटकीय क्षेत्रको अवलोकन गर्न पाउने बताए । नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) बाँकेका अध्यक्ष डिल्लीराज रेग्मीले तेस्रो मुलुकका नागरिकका लागि नाका सञ्चालनमा आएपछि सबैभन्दा बढी खुसी यहाँका व्यवसायी हुने उल्लेख गरे ।

उनले पर्यटकले भारत हुँदै आएर बाँके र बर्दियाका पर्यटकीय क्षेत्रको भरपुर आनन्द लिन सक्ने बताए । उनले बाँकेमा बाँके राष्ट्रिय निकुञ्ज र बर्दियामा बर्दिया राष्ट्रिय निकुञ्जमा रहेका बाघ लगायत वन्यजन्तुको अवलोकन गर्न आउनेको सङ्ख्या पनि बढ्ने विश्वास व्यक्त गरे । बन्द रहेको आवागमन खुलाउन लामो समयदेखि स्थानीय पर्यटन व्यवसायीले माग गर्दै आएका थिए ।

प्रतिक्रिया