Listen LIVE

बरिष्ठ कलाकार निर्माेहीको सहयोगार्थ नेपालगञ्जमा साँस्कृतिक कार्यक्रम

नेपालगञ्ज : बरिष्ठ कलाकार कमल बिके निर्माेहीको सहयोगार्थ नेपालगञ्जमा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । मृगौला रोगबाट पीडित निर्माेहीको उपचार सहयोगका लागि बास नेपालले साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो । 

उज्यालो, प्रेम र एकताका माध्यमबाट सुशासन र समृद्धिको सन्देश प्रबाह गर्ने उद्देश्यले तिहारका मौलिक सँस्कृति र मान्यताहरुलाई प्रबद्र्धन गर्नका लागि तिहारका रंगहरु कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा सामूहिक देउसी, भैलो, साँस्कृतिक प्रस्तुति, नृत्य, नाटक लगायतका प्रस्तुतिहरु गरिए । स्थानीय फरक–फरक कला र संस्कृतिलाई एकै मञ्चबाट प्रस्तुत गरिएको उक्त कार्यक्रममा अस्वस्थ अवस्थामै पुगेका बरिष्ठ कलाकार निर्माेहीले आफूलाई सहयोग गर्न सहयोगी हातहरु अघि बढेको देख्दा खुशी लागेको बताए । उनी ह्विल चियरमै मञ्च चढ्दा सहभागीहरु भावुक बनेका थिए । निर्माेही मृगौला रोगबाट पीडित भई उपचारको क्रममा छन् ।

कार्यक्रममा गायक सुनिल सिंह ठकुरी, पूर्ण थापा, महेन्द्र सेढाई, बरिष्ठ कलाकार श्यामानन्द सिंह, जित बहादुर थापा, सन्तोष सोती मगर, सुजन डिसी, मेरो डान्स युनिभर्सका थर्ड रनर अप सुरज सिंजाली मगर, डान्सर रुबिना अधिकारी, मौसमी राना मगर, आरुसी मगर, एक्टिंग स्टार नबिना रानाभाट लगायतको प्रस्तुति रहेको थियो । उद्घोषक शकुन्तला शाहले सञ्चालन गरेको कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत तथा उद्देश्यमाथि प्रकाश पारेका थिए । 

बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माको अध्यक्षतामा भएको कार्यक्रममा १५० बढी सहभागी थिए । बबईमा उर्लदै मिल्न आयो खोली गुहार–झन हेर्यो झन माया लाग्छ कान्छीको मुहार, लाग्यो माया मोहनी, सुर्खेतकी नानी, आउँ त भने बाटो छ खोलाको–नआउँ भने त्यो तिम्रो झझल्को लगायतका सयौं गीतका गायक निर्माेही अहिले अस्वस्थ छन् । तीन दशक भन्दा बढी समय नेपाली लोक संगीत र सञ्चार क्षेत्रमा सक्रिय रहेका उनी बिगत डेढ बर्षदेखि अस्वस्थ भएका हुन् ।

दुवै मिर्गौला फेल भएपछि उनी केही समय यता नेपालगञ्जस्थित आफ्नै घरको ओछ्यानमा सीमित बनेका छन् ।

सञ्चार र संगीत कर्मका माध्यमबाट दर्शक र श्रोतालाई मनोरञ्जन दिने वरिष्ठ रेडियोकर्मी तथा लोक गायक निर्मोही अहिले जीवनकै कठिन अवस्थासँग मुकाबिला गरिरहेका छन् । लामो समय रेडियो नेपालमा काम गरेका निर्माेही कुनै बेला यस क्षेत्रका साँस्कृतिक मेला, महोत्सवमा कुनै बेला पर्याय जस्तै थिए । निर्माेही बिनाका साँगितिक कार्यक्रम बिरलै हुन्थे । उनी बिनाको स्टेज आयोजकले कल्पना समेत गर्दैन थिए ।

कुनै बेला यस्तो थियो, निर्माेहीको आवाज रेडियोमा सुन्न, उनलाई भेट्न मान्छेहरु मरिहत्ते गर्थे, बेला अहिले यस्तो आयो कि बिरामी भएर थला परेका निर्माेही आफूलाई कोही भेट्न आइदिए हुन्थ्यो भन्ने अवस्थामा छन् । रेडियो र स्टेज कार्यक्रममा स्वरको जादु चलाउने उनको आवाज यति बेला लर्बरिरहेको छ । रोगले गर्दा एउटा खुट्टा र हात चलाउन असहज भइरहेको छ । आफैं उठ्न, बस्न सक्ने अवस्थामा उनी छैनन् । लोकप्रिय गीतहरु गाएर दुनियाँलाई मनोरञ्जन दिने उनी आफू रोगले थला पर्दा गुमनाम हुनुको पीडामा छन्, पीडाले बेला, बेला भक्कानिन्छन् ।

प्रेसर र सुगर रोगबाट पीडित उनको मिर्गौला फेल भएपछि उनी पूर्णरुपमा अस्वस्थ बने । अहिले उनको भेरी अस्पतालमा उपचार भइरहेको छ । हालसम्म उनको उपचार परिवारले गरिरहेको छ । निरन्तर उपचारका लागि आर्थिक अभाव हुन थालेको उनको भनाई छ । डायलाइसिस निःशुल्क भए पनि औषधि लगायतको खर्चका लागि सहयोग आवश्यक रहेको उनले बताए । हप्तामा दुई पटक डायलाइसिस गरिरहेका निर्माेहीको दुबै मृर्गाैला फेल भएका कारण नयाँ मिर्गौला प्रत्यारोपण गर्न आवश्यक छ । जसका लागि मिर्गाैला दान गर्ने दाता र आर्थिक सहयोग गर्ने दाताहरुको आवश्यकता उनलाई छ ।

प्युठान पुख्र्यौली घर भई दाङ हुँदै २०३५ सालदेखि नेपालगञ्जमा बसोबास गर्दै आएका उनले लामो समय रेडियो नेपाल सुर्खेतमा काम गरे भने नेपालगञ्जका बागेश्वरी, हिमाल, जनआवाज लगायतका एफएम, भिजन, जी–नेपाल एचडी टेलिभिजनहरुमा काम गरे । दाङमा जन्मिएका निर्माेहीले कोमल ओली लगायतका बरिष्ठ कलाकारहरुसँग बिभिन्न गीतहरुमा स्वर दिएका छन् । 

मोफसलमा रेकर्डिंग स्टुडियो नभएको बेला नेपालगञ्जमा वेभ डिजिटल रेकर्डिंग स्टुडियो स्थापना गरी यस क्षेत्रका कलाकारहरुलाई सहज बनाएका उनले नेपाल टेलिभिजन कोहलपुरबाट सप्तरंगी संगीत लहर साँगितिक कार्यक्रम लामो समयसम्म सञ्चालन गरेका थिए । समधुर आवाजका धनी, राष्ट्रका धरोहर निर्माेहीको उपचारका लागि सबैको तर्फबाट सहयोग गर्न जरुरी छ ।

प्रतिक्रिया