बर्दिया : बर्दियाको गेरुवा गाउँपालिका–६, नौरङ्गाकी बालकृष्णी चौधरीको खेतको छेउमा नहर भए पनि उनले लगाएको चैते धान र बसन्ते मकै सुक्न थालेका छन् । नहर छ भनेर खेती गरेका चौधरीले अहिले ऋण गरेर डिप बोरिङ गर्न थालेका छन् ।
“नहर छ भनेर मकै र चैते धान लगाएँ, सिँचाइ गर्ने बेलामा नहर नै सुक्यो,” उनले भनिन् । उनका अनुसार नियमित पानीको सुविधा हुँदा भने हिउँदको समयमा जुनसुकै खेती पनि हुन्छ । गेरुवा गाउँपालिका–६, नौरङ्गाकै परशुराम चौधरीले पनि नहरको भरोसा नभएपछि डिप बोरिङ गरेका छन् । गेरुवा नदीमा पानी सुकेपछि सिँचाइमा समस्या भएको हो । उनले भने, “गेरुवाको पानी पश्चिमतर्फको भँगालो कर्णाली नदीमा गएपछि बाह्रै महिना सिँचाइ हुने राजापुरमा समस्या भएको छ ।”
राजापुर नगरपालिका–५ का डिप बोरिङ गर्ने मिस्त्री उदयचन्द्र चौधरीलाई अहिले भ्याइनभ्याइ छ । उनले पाँच दस कट्ठा जग्गा भएकाले समेत डिप बोरिङ गर्न थालेको बताए । गेरुवा नदीबाट ल्याएको मनाउ कुलो र खैरी कुलोमा पानी नभएपछि मकै र चैते धान सुक्न थालेको हुनाले अधिकांशले डिप बोरिङ गर्न थालेका हुन् ।
नहरको भरोसा नभएपछि गेरुवा गाउँपालिकामा सिँचाइ मोटर माग्ने कृषकको सङ्ख्या वृद्धि भएको छ । वडाध्यक्ष जमानसिंह केसीले गत आर्थिक वर्षमा गेरुवा गाउँपालिकाले २५ वटा सिँचाइ मोटर वितरण गरेको बताए । उनले यस वर्ष मोटर वितरणका लागि १० लाख बजेट विनियोजन गरिएकामा ५० जना कृषकले मोटर माग गरेको बताए ।
कर्णाली नदी र गेरुवा नदी छुट्टिएको स्थान लालमाटीमा नदीजन्य पदार्थ थुप्रिएको छ । कर्णाली नदीमा नदीजन्य पदार्थ उत्खनन भई नदी गहिरिएको र गेरुवा नदीमा उत्खनन नहुँदा नदी उच्च भएको छ । गेरुवा नदी क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जमा पर्दछ । सो स्थानमा नदीजन्य पदार्थ उत्खनन हुँदैन ।
राजापुर सिँचाइ आयोजनाका प्रमुख रामकृष्ण घोडासैनीले नदीजन्य पदार्थ थुप्रिएकै कारण गेरुवामा पानी सुकेको बताए । सिँचाइका लागि हरेक वर्ष नदी खोलेर पानी ल्याउनुपर्ने बाध्यता छ । उनका अनुसार उक्त क्षेत्र निकुञ्जभित्र भएको हुनाले पनि काम गर्न गाह्रो छ । नदीमा थुप्रिएको ढुङ्गा, गिट्टी, बालुवा नहटाउँदासम्म यसको दिगो समाधान हुँदैन ।
राजापुर सिँचाइ आयोजनाले यस वर्ष एक अर्ब १६ करोड रुपैयाँको लगानीमा बुढीकुलो, मनाउँ, खैरी र चन्दनपुर कुलोको हेडवक्र्स निर्माणको प्रक्रिया सुरु गरिसकेको छ । राजापुर सिँचाइ आयोजनाले चार अर्ब रुपैयाँको लगानीमा छ वर्षभित्रमा राजापुर क्षेत्र सिँचाइ व्यवस्थित गर्ने योजना रहेको जनाएको छ तर गेरुवा नदीको लालमाटी क्षेत्रको नदीजन्य पदार्थ व्यवस्थापन नगर्दासम्म आयोजनाको काम बालुवामा पानी सरह हुने छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार