नेपालगञ्ज : बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान, प्राणायाम तथा कानूनी साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ । सुधार गृहभित्र रहेका कानूनी विवादमा परेका बालकको मानसिक स्वास्थ्य सुदृढीकरण, आत्मबल अभिवृद्धि र कानूनी सचेतना बढाउने उद्देश्यले आयोजित कार्यक्रमलाई सुधारात्मक न्याय प्रणालीको नयाँ अभ्यासका रूपमा हेरिएको छ ।
जयेन्दु बाल सुधार गृहको आयोजनामा सम्पन्न कार्यक्रममा एड्भोकेसी फोरम लुम्बिनी प्रदेशका संयोजक तथा अधिवक्ता वसन्त गौतमले सहजीकरण गरेका थिए । कार्यक्रममा योग, ध्यान र प्राणायामका अभ्याससँगै बाल न्याय प्रणाली, बाल अधिकार तथा कानूनी प्रक्रियाबारे अभिमुखीकरण प्रदान गरिएको थियो ।
कार्यक्रमको पहिलो सत्रमा बालकहरूलाई योग, ध्यान र प्राणायामका विभिन्न विधिहरू अभ्यास गराइएको थियो । लामो समयदेखि कानूनी प्रक्रियामा रहेका बालकमा देखिने मानसिक तनाव, हीनताबोध र नैराश्य कम गर्न यस्ता अभ्यास प्रभावकारी हुने विश्वास गरिएको छ । कार्यक्रममा सहभागी बालकहरूले सामूहिक रूपमा योग र ध्यान गर्न पाउँदा आफूहरूमा सकारात्मक ऊर्जा र आत्मविश्वास बढेको अनुभव सुनाएका थिए । केही बालकहरूले गीत तथा कविता प्रस्तुत गर्दै आफ्ना भावना समेत व्यक्त गरेका थिए ।
कानूनी साक्षरता सत्रमा अधिवक्ता गौतमले बाल न्याय प्रणालीको सुधारात्मक अवधारणा, बाल अधिकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी व्यवस्था, बाल न्यायका सिद्धान्त, कार्यान्वयन अवस्था तथा चुनौतीबारे जानकारी गराए । छलफलका क्रममा बालकहरूले उमेर मिल्दो वा आपसी सहमतिमा भएका सम्बन्धलाई अन्तर्राष्ट्रिय अभ्यास अनुसार अपराधको दायरामा नराख्ने कानूनी व्यवस्था आवश्यक रहेको धारणा व्यक्त गरे ।
उनीहरूले सामान्य गल्तीमा कठोर सजाय भन्दा सुधारात्मक उपाय अवलम्बन गर्नुपर्ने, डाइभर्सन, सजाय स्थगन, प्यारोल र सजाय छुटका व्यवस्थालाई प्रभावकारी रूपमा लागू गर्नुपर्ने तथा आफ्ना मुद्दाको सुनुवाइका क्रममा अदालतमा उपस्थित हुने अधिकार सुनिश्चित गर्नुपर्ने माग पनि राखेका थिए ।
जयेन्दु बाल सुधार गृहका प्रमुख किशोर शर्माले योग, ध्यान र प्राणायामले बालकहरूको शारीरिक तथा मानसिक रूपान्तरणमा सकारात्मक प्रभाव पारेको बताए । उनले सुधार गृहलाई बालमैत्री तथा सुधारात्मक केन्द्रका रूपमा विकास गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए । कार्यक्रमका सहजकर्ता अधिवक्ता तथा योग प्रशिक्षक गौतमले बालकलाई केवल चार पर्खालभित्र राखेर मात्र व्यवहार परिवर्तन सम्भव नहुने बताउँदै योग, ध्यान, खेलकुद र कानूनी साक्षरता जस्ता कार्यक्रम सबै बाल सुधार गृहमा नियमित सञ्चालन गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।
हाल जयेन्दु बाल सुधार गृहको क्षमता १२० जनाको भए पनि १७९ जना बालक आश्रित छन् । ती मध्ये ८० जना १८ वर्ष भन्दा माथिका र ९९ जना १८ वर्षमुनिका रहेका छन् । कुल १५४ मुद्दामा १७९ जना बालक कानूनी प्रक्रियामा छन् । जसमध्ये ८५ जनाको फैसला भइसकेको छ भने ९४ जना पुर्पक्षमा रहेका छन् ।
मुद्दागत विवरण अनुसार सबैभन्दा बढी जबरजस्ती करणीका ७४ मुद्दा छन्, जसमा ७६ जना बालक प्रतिवादी छन् । त्यसपछि कर्तव्य ज्यानका १६ मुद्दामा २६ जना, लागुऔषधका १३ मुद्दामा १४ जना तथा सामूहिक जबरजस्ती करणीका ७ मुद्दामा ११ जना बालक कानूनी प्रक्रियामा रहेका छन् ।
सुधार गृहका अनुसार विगतमा भागेका ११५ जनामध्ये हालसम्म ४७ जना अझै फरार रहेका छन् । सरोकारवालाले योग, ध्यान, खेलकुद र कानूनी साक्षरतालाई नियमित कार्यक्रमका रूपमा विकास गर्न सके बाल सुधार गृहहरू वास्तविक अर्थमा सुधार तथा पुनःस्थापनाका केन्द्र बन्न सक्ने विश्वास व्यक्त गरेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार