हुम्ला : नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीन वटै बस्तीमा खेतीयोग्य जमिन बाँझो हुने क्रम बढ्दै गएको छ ।
स्थानीयको बसाइँ सर्ने क्रम बढ्नु र लिमीमै बस्ने भए पनि चीनको ताक्लाकोट काम गर्न जाने सङ्ख्या बढेपछि स्थानीयले खेती गर्न छोड्दा जग्गा बाँझो हुने क्रम बढेको हो । लिमीका वडा सदस्य तिलगाउँका स्थानीय पेन्पातुण्डुप लामाले बर्सेनि खेतीयोग्य जमिन बाँझो हुने क्रम बढिरहेको बताए ।
उनले केही जग्गा तिल बस्तीका स्थानीयले छोडेर काठमाडौँ गएपछि बाँझिएको र केही स्थानीय चीनको ताक्लाकोट गएर काम गर्ने भएकाले गाउँको जग्गामा खेती गर्न छोडिएको जानकारी दिए ।
यसरी तिलगाउँमा मात्र ३० हल जग्गा खेती गर्न छोडिएपछि बाँझिएको बताउँदै उनले यसको समाधानको उपाय आफूसँग नभएको उल्लेख गरे । यसैगरी जाङगाउँको सबै जग्गा बाँझिएको स्थानीय कुन्जोक तामाङले बताए । यतिबेला उवा बाली फलेको देखिनुपर्ने जाङगाउँको खेतीयोग्य जमिन सबै बाँझो भएर झारपात मात्र उम्रिएको अवस्था छ । उक्त गाउँमा मात्र ७० हलभन्दा बढी खेतीयोग्य जग्गा बाँझो रहेको छ ।
यता सबैभन्दा बढी घरधुरी रहेको हल्जीगाउँमा पनि जग्गा बाँझिने क्रम बढिरहेको सो गाउँका स्थानीय कोनुर्बु तामाङले बताए । यसै वर्ष हल्जीगाउँ छोडेका दुई घरधुरी र अरू ताक्लाकोट काम गर्न गएका स्थानीयको जग्गा सबै बाँझो रहेको जानकारी उनले दिए । जग्गाको उत्पादनले छ महिना खाना नपुग्ने भएपछि खेतीपाती छाडेर अन्यत्र काम गर्न जानुपर्ने बाध्यता छ । हल्जीगाउँमा पहिलो पटक जग्गा बाँझो छ । लिमीका वडाध्यक्ष पाल्जोर तामाङ लिमीको खेतीयोग्य जमिन बाँझो रहनुभनेको लिमी विस्तारै मानिसविहीनको अवस्थामा रहेको देखिएको बताए ।
बेलैमा गाउँपालिका, प्रदेश सरकार र सङ्घ सरकारले नसोच्ने हो भने भोलि लिमीमा बस्ती थियो भन्ने इतिहासमा अध्ययन गर्नुपर्ने अवस्था नआउला भन्न नसकिने उनले बताए । लिमीका कुनै बस्ती मात्र नभएर सिङ्गो वडाका लागि जग्गा बाँझो हुँदै जानु दुःखद विषय हुने उनको भनाइ छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार